वीरगन्ज :

स्थानीय तह र प्रदेशसभा चुनाव एकैपटक गर्न आयोगको सिफारिस

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
2.2kViews
1996 Shares

काठमाडौं,०५ चैत । निर्वाचन आयोग का कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले २०८४ सालमा हुने दुवै निर्वाचन एउटै मितिमा गर्न सके खर्च घट्ने र प्रक्रिया प्रभावकारी हुने बताएका हुन्।

भण्डारीका अनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन र २०८४ मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्ने भएकाले समय मिलाएर संयुक्त रूपमा सम्पन्न गर्न सकिन्छ। तर हालको कानुनी व्यवस्थाले यस्तो व्यवस्था गर्न नदिने उनले स्पष्ट पारे।

उनले करिब १० वटा छुट्टाछुट्टै निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताए। आयोगले यससम्बन्धी विधेयकको मस्यौदा दुई वर्षअघि नै सरकारलाई पठाइसकेको र हाल गृह मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए।

भण्डारीले निर्वाचनअघि कम्तीमा एक वर्षअघि कानुनी संरचना तयार हुनुपर्नेमा जोड दिँदै आगामी अधिवेशनमै विधेयक पारित गर्न आग्रह गरे। अन्यथा २०८४ सालको निर्वाचन पनि पुरानै ढर्रामा सीमित हुने चेतावनी उनले दिए।

उनले नवनिर्वाचित सांसदहरूलाई समाजमा देखिएका असन्तुलनलाई सुधार गर्दै आवश्यक ऐन–कानुन निर्माणमा सक्रिय हुन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *