श्रेणी : BANNER
वीरगंज (पर्सा), २७ माघ । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्न थालेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले सोमबार बिहान वीरगंज महानगरपालिका आदर्शनगरस्थित एक ट्रान्सपोर्ट व्यवसायमा छापा हानेपछि उत्पन्न विवाद हिंसात्मक रूप लिँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीको ना. १ झ १५३१ र एफ.ए.ए. ०१२५ नम्बरको गाडी क्षतिग्रस्त बनेको छ । घटनापछि वीरगंजमा प्रहरी प्रशासनको रवैयाप्रति आक्रोश र असन्तोष चुलिँदै गएको छ ।
सशस्त्र प्रहरीको व्यवहारबाट आजित स्थानीय समूहले प्रतिकारमा उत्रिएपछि विवाद झडपमा परिणत भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार, घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो र केही समयका लागि क्षेत्र त्रासको वातावरणमा डुबेको थियो । उक्त ट्रान्सपोर्ट व्यवसायी मादीन रुन्चे (मदन रुन्चे) को गोदाममा पछिल्लो तीन महिनाको अवधिमा मात्रै तीन पटक छापामारी भइसकेको छ । कहिले नेपाल प्रहरीले त कहिले सशस्त्र प्रहरीले छापा हान्दै आएको छ । प्रहरी पक्षले प्रत्येक पटक भन्सार छलि गरिएका सामान बरामद गरेको दाबी गरेपनि व्यवसायी पक्षले भने ती सामान सबै बिल बिजकसहित वैधानिक रहेको जिकिर गर्दै आएको छ ।
व्यापारीहरूले उठाएको गम्भीर प्रश्न के छ भने, यदि सामान वास्तवमै भन्सार छलि गरिएको हो भने ती सामान भारत नेपाल सीमाबाट कसरी वीरगंज बजारसम्म आइपुगे ? सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै भन्सार छलि भएका सामान भित्रिनु स्वयंमा शंकास्पद रहेको उनीहरूको भनाई छ । सीमा क्षेत्रमा ‘महिनावारी सेटिङ’ गरेर सामान भित्रिन दिने र गोदाममा आएपछि छापा हानी बहादुरी देखाउने प्रवृत्तिले प्रहरीको दोहोरो चरित्र उजागर भएको व्यापारीहरूको आरोप छ ।
रुन्चेको गोदाममा बारम्बार छापामारी हुनु कुनै एक व्यक्तिसम्म सीमित विषय नभएको उद्योगी व्यापारीहरू बताउँछन् । यसले वीरगंजका अधिकांश व्यापारीहरूलाई त्रसित बनाएको छ । प्रहरी प्रशासनको यस्तै रवैयाका कारण कतिपय व्यापारी वीरगंजबाट व्यवसाय विस्थापन गर्न बाध्य भइसकेका छन् भने केही पलायनको तयारीमा रहेको उनीहरूको दाबी छ । व्यापारी संगठनहरूका अनुसार, ‘महिनावारी’ नदिएपछि जुनसुकै व्यापारीको गोदाममा पनि छापा हान्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको कथित कार्यशैलीले वीरगंजमा प्रहरी प्रशासनको आतंक बढ्दै गएको छ । उद्योग व्यवसाय सञ्चालन गर्न असुरक्षित महसुस हुन थालेपछि आर्थिक गतिविधि नै प्रभावित हुने खतरा देखिएको उनीहरूको चेतावनी छ ।
घटनाका सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । जिम्मेवार अधिकारीहरू नै मौन बस्नु र पटक पटक व्यापारीलाई त्रसित बनाउने शैली अपनाइनुले प्रहरी प्रशासनप्रति अविश्वास झनै गहिरिँदै गएको स्थानीयको भनाइ छ । उद्योगी, व्यापारी तथा स्थानीय बासिन्दाहरूले वीरगंजमा प्रहरी प्रशासनको व्यवहार सुधार नभए अवस्था झनै विस्फोटक बन्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले निष्पक्ष छानबिन, पारदर्शी कार्यशैली र व्यापारीमैत्री सुरक्षा नीति अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
वीरगंज जस्तो प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रमा सुरक्षा निकायकै कारण त्रासको वातावरण सिर्जना हुनु गम्भीर विषय भएको भन्दै अब प्रहरी प्रशासनको भूमिका र नियतमाथि गहिरो समीक्षा आवश्यक देखिएको छ ।
यता ट्रान्सपोर्ट एशोसिएशन वीरगंजले प्रेस विज्ञप्ति जारी गर्दै ट्रान्सपोर्ट व्यवसायीहरुले ‘छापामारी गर्न आएका सशस्त्र प्रहरीलाई लखेटे’ भन्ने शब्दको भत्सर्ना गरेको छ । एशोसिएशनले जारी गरेको विज्ञप्तिमा सोमबाबार विहान करिब ८/९ बजे को समयमा व्यापारीको गोदाममा सशत्र प्रहरी बलले छापा मार्दै गर्दा विवाद उत्पन्न भई सशत्र प्रहरी बल र स्थानीयहरु बीचमा झडप हुँदा ट्रान्सपोर्ट व्यवसायीहरुले लखेटे भन्ने शब्दहरु प्रयोग गरि समाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘एसोसिएसनमा आवद्ध व्यवसायीहरु कुनैपनि गैर कानुनी कार्यमा संलग्न नहुने र त्यसता कार्यको पक्ष पोषण नगर्ने भएकोले समाजिक सञ्जाल प्रयोग कर्ताहरुले सत्य तथ्य बुझी समाचार सम्प्रेषण गर्नको लागि अनुरोध गर्दै त्यस्ता भामक समाचारको घोर भत्र्सना गरेको छ । सशत्र प्रहरीप्रति भएको हातपातको सशक्त विरोध गर्दछौ । ढुवानी व्यवसाय स्वक्ष पारदर्शिताको लागि यस संघ सदैव तत्पर रहेको जानकारी गराउँदछौ ।’

प्रतिक्रिया