श्रेणी : मधेस
वीरगन्ज, २४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं. २५ स्थित सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देशमा अहिले देखिएको निर्वाचन प्रक्रिया युवामा बढ्दो परिवर्तनको चाहनाको प्रतिफल भएको स्पष्ट पारे। पुराना दलहरू सत्तामा जरा गाडेर बसे पनि युवाको निरन्तर दबाब र असन्तुष्टिकै कारण अहिलेको राजनीतिक अवस्था निर्माण भएको उनको भनाइ थियो।
“युवाले परिवर्तन चाहेनन् भने आज चुनाव नै सम्भव हुने थिएन,” उनले भने, “पुरानो राजनीतिक संरचनालाई चुनौती दिन युवाले नै यो लडाइँ सुरु गरेका हुन्।”
आफू आर्थिक रूपमा शक्तिशाली उम्मेदवार नभएको स्वीकार्दै कानुले पैसाको भरमा होइन, युवाको साथ, भरोसा र सक्रियतामै आफ्नो उम्मेदवारी आधारित रहेको दाबी गरे।
“यो उम्मेदवारी पैसाले जित्ने होइन,” उनले भने, “युवाको ऊर्जा, विश्वास र सहभागिताले जित्ने उम्मेदवारी हो।”
कार्यक्रमका क्रममा कानुले पर्सा–२ भित्रका दीर्घकालीन र उपेक्षित समस्या नै आफ्नो मुख्य चुनावी एजेन्डा भएको उल्लेख गरे। उनले वर्षौंदेखि पुलको अभाव, कमजोर सडक पूर्वाधार तथा सूचना–सञ्चारको कमजोर पहुँचका कारण स्थानीयले मोबाइल नेटवर्कसमेत नपाउने अवस्था भोग्नुपरेको बताए।
“आधारभूत आवश्यकता पूरा नगरी ठूला विकासका कुरा गर्नु जनतालाई भ्रममा पार्नु मात्रै हो,” उनले स्पष्ट पारे।
शिक्षा र स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कानुले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
“शिक्षा र स्वास्थ्य सबल नभएसम्म समाज आत्मनिर्भर र समृद्ध बन्न सक्दैन,” उनले भने, “स्थानीय नागरिकले सहज, सुलभ र गुणस्तरीय सेवा पाउने व्यवस्था गर्नु मेरो प्रमुख लक्ष्य हो।”
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले पुरानै शैलीको राजनीति, दोहोरिने आश्वासन र कार्यान्वयनविहीन घोषणाबाट आफूहरू दिक्क भइसकेको प्रतिक्रिया दिए। उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिक विकल्पको खोजी भइरहेको बताउँदै रास्वपाप्रति खुला समर्थन जनाए।

प्रतिक्रिया