श्रेणी : BANNER
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले चुनावी रणनीतिलाई नयाँ ढंगले अघि बढाएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेको विजय सुनिश्चित गर्ने लक्ष्यसहित एमालेले जेन–जी युवालाई केन्द्रमा राख्दै विशेष शक्ति प्रदर्शनको तयारी गरेको छ।
यस अभियानको नेतृत्व नेकपा एमालेका केन्द्रीय सचिव तथा युवा नेता योगेश भट्टराईले गर्नेछन्। आयोजकका अनुसार आगामी २०८२ माघ २४ गते शनिबार, पर्साको पटेर्वा सुगौली गाउँपालिका–स्थित श्री बनसप्ती गादी माई मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
जेन–जी मतदातालाई लक्षित एमालेको नयाँ रणनीति
जेन–जी युवामाझ लोकप्रिय मानिने नेता भट्टराईको सक्रियतापछि पर्सा–३ का युवाहरू आफ्नै पुस्ताका उम्मेदवार रुपेश पाण्डेको पक्षमा खुलेर उभिन थालेको एमाले नेताहरूको दाबी छ। उनीहरूका अनुसार यो कार्यक्रम केवल चुनावी औपचारिकता नभई युवा पुस्ताको राजनीतिक सहभागिता र प्रभाव देखाउने शक्ति प्रदर्शन हुनेछ।
एमालेले पर्सा–३ लाई युवा मत निर्णायक बन्ने क्षेत्रका रूपमा विश्लेषण गर्दै संगठन विस्तार र परिचालनलाई तीव्र बनाएको छ।
वीरगञ्जमा पार्टी प्रवेशले एमाले थप सशक्त
केन्द्रीय सचिव भट्टराई वीरगञ्ज आइपुगेपछि पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको थियो। सो अवसरमा विभिन्न राजनीतिक पृष्ठभूमिका प्रभावशाली नेताहरूले नेकपा एमाले प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्नेमा
ठा.रा.ब. क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी,
वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ का पूर्व वडा अध्यक्ष तथा जसपा नेपालका नेता मनोज कलवार,
वडा नम्बर–३ का पूर्व वडा सदस्य एवं वीरगञ्ज न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तर
लगायत रहेका छन्।
उनीहरूले केन्द्रीय सचिव भट्टराईको हातबाट टीका र माला ग्रहण गर्दै औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। यस घटनालाई पर्सा–३ मा एमालेको बढ्दो आकर्षणको संकेतका रूपमा हेरिएको छ।
संगठन सुदृढीकरण र युवा परिचालनमा जोड
नेकपा एमाले गाउँपालिका कमिटी, पटेर्वा सुगौली पर्साको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई सफल बनाउन पार्टीले नेता, कार्यकर्ता र समर्थकहरूलाई गरिमामय सहभागिताका लागि आह्वान गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले पर्सा–३ मा संगठन सुदृढीकरण, युवा परिचालन र जनसम्पर्क अभियानलाई अझ आक्रामक ढंगले अघि बढाउने रणनीति लिएको पार्टी स्रोतको भनाइ छ।

प्रतिक्रिया