श्रेणी : BANNER
वीरगन्ज, २३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)ले चुनावी माहोललाई तीव्र बनाउँदै संगठनात्मक शक्ति प्रदर्शन गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर–१२, श्रीपुरमा एमाले उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सम्पर्क कार्यालयको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले गरेका हुन्। उद्घाटन समारोहमा पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवसहित पार्टीका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
‘एमाले नेतृत्वको सरकार पक्का, प्रदीपलाई मन्त्री बनाइन्छ’
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले आगामी निर्वाचनपछि देशमा पुनः एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे। उनले स्पष्ट शब्दमा भने, “फागुन २१ पछि एमाले सरकारमा जाने निश्चित छ। पर्सा–१ बाट प्रदीप यादव विजयी भएर गए, पार्टीले उहाँलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनेछ।”
भट्टराईले पर्सा–१ का मतदातालाई अत्यधिक मतसहित यादवलाई विजयी गराउन आग्रह गर्दै यसलाई क्षेत्रको विकास र राजनीतिक प्रभाव विस्तारसँग जोडेर हेर्नुपर्ने बताए।
‘कर्मठ र जनमुखी नेता संसदमा पुग्नैपर्छ’
उपमहासचिव भट्टराईले उम्मेदवार यादवलाई कर्मठ, संघर्षशील र सधैं जनताको बीचमा रहने नेता भएको उल्लेख गर्दै यस्ता पात्र संसदमा पुग्न जरुरी रहेको बताए। उनले भने, “जनतासँग जोडिएका नेताले मात्र संसदमा गएर क्षेत्र र देशका मुद्दा मजबुत रूपमा उठाउन सक्छन्।”
संविधान र मधेसका मुद्दा जोगाउन एमाले रोजेँ : प्रदीप यादव
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार प्रदीप यादवले संविधानमाथि गम्भीर संकट देखिएकाले त्यसको रक्षा गर्न आफूले एमाले पार्टी रोजेको बताए। “संविधान जोगिएन भने मधेसका मुद्दाहरू पनि सुरक्षित हुँदैनन्,” उनले भने, “संविधान, लोकतन्त्र र मधेसका अधिकार जोगाउनकै लागि एमाले रोजेको हुँ।”

उनले एमालेभित्र समावेशी सोच र राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र रहेको दाबी गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।
एमाले पर्सामा एकताबद्ध, चारै क्षेत्रमा जित्ने दाबी
केन्द्रीय उपमहासचिव भट्टराईको पर्सा आगमनसँगै पार्टीभित्र देखिएका केही असमझदारीहरू अन्त्य भएको संकेत गर्दै यादवले यो कार्यक्रम एमाले पर्सामा एकताको सन्देश बनेको बताए। उनले यसपटक पर्साका चारै निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने उद्घोषसमेत गरे।
उनले भने, “यो निर्वाचन सामान्य प्रतिस्पर्धा होइन। यो संविधान जोगाउने, राष्ट्र र राष्ट्रियता जोगाउने लडाइँ हो। त्यसैले एमाले जित्नैपर्छ।”
कार्यक्रममा व्यापक सहभागिता
एमाले पर्सा–१ का क्षेत्रीय संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, नेतृ मुन्नी श्रीवास्तवलगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया