वीरगन्ज :

पर्सा–२ का जसपा नेपालका उम्मेदवार टेमानीद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै कपडा वितरण

श्रेणी : अपराध

1 day
Pradeep Sah
2.4kViews
1514 Shares

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।
निर्वाचन आयोगले फागुन २१ का लागि जारी गरेको निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवार, राजनीतिक दल वा सम्बन्धित व्यक्तिले विभिन्न संस्था वा व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न नपाउने व्यवस्था छ। तर उक्त व्यवस्था विपरीत टेमानीले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत नवजात शिशु र सुत्केरी महिलालाई कपडा वितरण गरेका छन्।

जेन–जी युवा राहुल गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी टेमानीले नवजात शिशु र सुत्केरी महिला गरी करिब १३५ जनालाई कपडा वितरण गरेको जनाइएको छ। निर्वाचनको समयमा यस प्रकारको गतिविधि आचारसंहिता विपरीत हुने भन्दै आलोचना सुरु भएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै पर्सामा गठित निर्वाचन आचारसंहिता अनुगमन उपसमितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले अस्पतालमा कपडा वितरण गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको स्पष्ट पारे। उनले उजुरी परेमा छानबिन गरी सम्बन्धित उम्मेदवारविरुद्ध कारबाही हुने बताए।
यस सम्बन्धमा प्रतिक्रिया लिन उम्मेदवार टेमानीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन नउठेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *