परवानीपुर (बारा), १४ माघ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. -१ रहरिया टोल स्थित गएराति एक परिवारका दुईजनालाई विभत्व हत्या गरिएको छ । राति करिब १ बजेको समयमा घरको छतबाट प्रवेश गरेका कालो ज्याकेट लगाएका अपरिचित युवकले एउटै परिवारका दुईजनालाई विभत्सव हत्या गरि फरार भएका छन् । घटनाको क्रममा परिवारकै २ जना जना गम्भिर घाइते भएका छन् ।
परवानीपुर–१ रहरिया टोल निवासी ५२ वर्षीय जागरुक मण्डलका २८ वर्षका छोरा रामेश्वर मण्डल र श्रीमती ४६ वर्षीय सुमित्रा देवी मण्डलको हत्या गरिएको छ । घटनाबारे थाहा पाउने वित्तिकै श्रीमतीलाई बचाउन आक्रमणकारीसँग प्रतिकार गर्न खोजेका जागरुक मण्डल र उनकी २२ वर्षीय छोरी रिना कुमारी मण्डलमाथि आक्रमण हुँदा दुबैजना गम्भिर घाइते भएका छन् । घाइते बाबु र छोरीको बाराको गण्डक नौतन स्थित एल.एस. न्यूरो अस्पलालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको बताइएको छ ।
प्राप्त जानकारीअनुसार जागरुक मण्डलको घरमा राति आठ जना सुतिरहेका थिए । एक कोठामा रामेश्वर मण्डल र उनकी श्रीमती मनिता देवी मण्डल दुई जना नाबालिग बालबालिका सहित सुतिरहेका थिए । त्यही घरको अर्को कोठामा जागरूक मण्डल, उनकी श्रीमती सुमित्रा देवी मण्डल र एक नातिनी सुतिरहेका थिए भने छोरी रिना मण्डल अर्को कोठामा सुति रहेकी थिइन् ।
रातिको समयमा शौचालय जान बाहिर निस्केकी मृतक सुमित्रा देवी मण्डललाई छतबाट हाम फालेर घरमा प्रवेश गरेका युवकलाई भेटेपछि दुबैजनाबीच विवाद हुँदा आक्रमणकारीले सुमित्रा मण्डललाई तछाडमछाड गर्दै बरण्डा बाहिर लगी चाकुले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । त्यस लगत्तै श्रीमतीको चिच्याहट सुनेर ब्यूँझिएका जागरूक मण्डलमाथि पनि आक्रमणकारीले आक्रमण गर्न थालेपछि बीचमा हस्तक्षेप गर्न पुगेकी उनकी २२ वर्षीया छोरी रीना मण्डल पनि आक्रमणकारीको आक्रमणबाट गम्भीर घाइते भइन् ।
कोलाहलका बीच आक्रमणकारी घरभित्र प्रवेश गरी रामेश्वर मण्डलका करिब २८ वर्षका छोरामाथि पनि धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । दुईजनाको हत्या गरि दुईजनालाई गम्भिर घाइते बनाएको लगत्तै होहल्ला भएपछि गाउँका अन्य स्थानीयहरु थाहा पाएपछि आक्रमणकारी फरार भएका थिए । घटना भएलगत्तै तत्काल जिल्ला प्रहरी कार्यालय बाराको टोली राति करिब २ बजेदेखि घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुरसहित व्यापक अनुसन्धानमा खटिएको छ ।
घटनास्थल सिल गरिएको छ भने मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ । कालो ज्याकेट लगाएको एक जना शंकास्पद व्यक्ति फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका जागरूक मण्डल र २२ वर्षीया छोरी रीना मण्डललाई वीरगंजस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था गम्भीर रहेको र आई.सी.यू.मा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । यसरी रातिको समयमा एउटै परिवारका आमा र छोराको निर्मम हत्या हुँदा गाउँ शोकमा डुबेको छ । यो विभत्स हत्याकाण्डले सम्पूर्ण क्षेत्र स्तब्ध बनेको छ भने गाउँभर त्रास फैलिएको छ ।
यो हत्याकाण्डलाई स्थानीयले ‘अहिलेसम्मकै सबैभन्दा विभत्स घटना’ भन्दै गहिरो शोक र आक्रोश व्यक्त गरेका छन् । एउटै घरभित्र भएको आमा–छोराको हत्या र बाबु–छोरीको ज्यान जोखिममा पर्ने गरी गरिएको आक्रमणले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । प्रहरीले घटनाको वास्तविक कारण, संलग्न व्यक्ति तथा षड्यन्त्रको पाटो खुलाउन अनुसन्धान तीव्र बनाएको जनाएको छ ।
घरेलु विवाद र षड्यन्त्रको आशंका
घाइते रीना मण्डलको भनाईलाई उदृृत गर्दै प्रहरीले घटनाको पछाडि लामो समयदेखि चल्दै आएको घरेलु विवाद र षड्यन्त्र हुनसक्ने आशंका गरेको छ । रामेश्वर मण्डलकी श्रीमती मनिता देवीसँग करिब एक वर्षदेखि घरायसी झगडा र कुटपिट हुँदै आएको खुलेको छ । एक वर्ष अघि भाउजु घरबाट भागेकोले त्यही बेलादेखि नै दाई र भाउजुबीच विवाद चल्दै आएको घाइते रिना कुमारी मण्डलले बताइन् ।
घटनाको क्रमाम त्यही घरमा श्रीमान्सँगै सुतिरहेकी रामेश्वर मण्डलकी श्रीमती मनिता देवी मण्डललाई केही नभएको कारण पनि उनको संलग्नता हुन सक्ने आशंका गरिएको छ । त्यसको साथसाथै घाइते भएकी रिना कुमारी मण्डलले पनि आक्रमणकारीसँग आफ्नो प्रतिकार हुँदा बखत भाउजु मनिता देवीले आफूलाई नै भुइँमा टाउको पटक पटक लडाएर घाइते बनाएको उनको भनाई छ । मनिता देवी मण्डलको यस्ता क्रियाकलापले पनि उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।
आशंकामा बुहारी मनिता प्रहरीको नियन्त्रणमा
घटनामा प्रहरीले शंकाको आधारमा बुहारी मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ । घटनासँग सम्बन्धित शंकाका आधारमा २८ वर्षीया बुहारी मनितालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । ‘घटना कसरी र किन भएको हो भन्ने विषयमा बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ’ उनले भने, ‘उनको बयानपछि थप तथ्यहरु खुल्नेछन्,’ ।
प्रहरीका अनुसार सुतिरहेको अवस्थामा आमाछोरामाथि धारिलो हतियारले गरिएको आक्रमणबाट आमा सुमित्रा देवी र छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको र उनीहरूको शव घरमै फेला परेको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे यकिन गर्न प्रहरी टोली घटनास्थलमै पुगेर थप अनुसन्धान तथा प्रमाण संकलन गर्ने कार्यमा जुटेको प्रहरीले जनाएको छ ।
२४ घण्टा नवित्दै मुख्य अभियुक्त पक्राउ, ‘सुपारी हत्या’ तर्फ अनुसन्धान
परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधबार बिहान भएको विभत्सव दोहोरो हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्दै घटनाको डरलाग्दो रहस्य बाहिर ल्याएको छ । आमा–छोराको निर्मम हत्या प्रकरणमा मृतककी पत्नी मनिता देवी मण्डलका प्रेमी धर्मेन्द्र महतोलाई पक्राउ परेसँगै यो घटना पारिवारिक कलह मात्र नभई योजनाबद्ध अपराध भएको पुष्टि भएको छ ।
प्रहरी अनुसन्धानबाट मृतककी २३ वर्षीया पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धमेन्द्र महतो नै हत्याको योजनाकार रहेको खुलेको छ । घटनामा मृततको श्रीमती शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानकै क्रममा मनिताको बयानकै आधारमा प्रेमी महतोलाई पक्राउ गरिएपछि घटनाको रहस्य खुलेको हो ।
मनिताले प्रेमी धमेन्द्रसँग मिलेर हत्या योजना बनाएकी थिइन् । धमेन्द्र वैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनी माघ १२ गते काठमाडौं फर्किएपछि योजनालाई कार्यान्वयन गरिएको हुन सक्ने प्रहरीको आशंका छ । यस विषयमा बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्ने अवस्था छैन, अनुसन्धान भइरहेको छ, चाँडै सत्य तथ्य बाहिर आउँछ, दोषी कारवाहीबाट उम्किन पाउँदैन ।’
‘सुपारी’ हत्या हुनसक्ने आशंका
प्रहरीले यो हत्या केवल दुई जनाले मात्र नभई अन्य व्यक्तिको संलग्नतामा ‘सुपारी’ दिएर गराइएको हुनसक्ने आशंका पनि गरेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार धारिलो हतियार प्रयोग गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटनामा प्रयोग भएका हतियार, सम्भावित संलग्न व्यक्ति र योजनाको सम्पूर्ण सञ्जाल पत्ता लगाउन विशेष अनुसन्धान टोली खटाइएको छ ।
बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले घटनाबारे गहिरो अनुसन्धान जारी रहेको जानकारी दिँदै, ‘यो जघन्य अपराधमा संलग्न सबै व्यक्ति पहिचान गरी कानुनी दायरामा ल्याइनेछ,’ भने । उनका अनुसार मोबाइल विवरण, सीसी क्यामरा फुटेज, कल रेकर्ड र बयानका आधारमा थप पक्राउ पर्न सक्ने सम्भावना उच्च छ । एकै परिवारभित्र भएको यस्तो जघन्य घटनाले परवानीपुर स्तब्ध छ । आमा–छोराको हत्या र बाबु–छोरी गम्भीर घाइते भएको घटनालाई स्थानीयले ‘अकल्पनीय र अमानवीय’ भन्दै दोषीलाई कडा सजायको माग गरेका छन् ।
प्रहरी अनुसन्धानले क्रमशः घटनाको सम्पूर्ण रहस्य खोल्दै लगिरहेको छ । तर प्रारम्भिक निष्कर्षले नै यो हत्याकाण्ड घरेलु विवादको सीमाभन्दा धेरै अगाडि बढेर प्रेम सम्बन्ध, षड्यन्त्र र सम्भावित सुपारी नेटवर्कसम्म पुगेको संकेत दिएको छ ।

प्रतिक्रिया