वीरगन्ज :

चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण सफलतापूर्वक सम्पन्न

श्रेणी : BANNER

4 hours
Pradeep Sah
1.6kViews
1678 Shares

चितवन,१२ माघ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर सुरु गरिएको बाघ गणनाको दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ। गत पुस ३ गतेदेखि सुरु भएको गणनामा अब जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनका अनुसार यी क्यामेराहरू उठाउन दुई–तीन दिन लाग्नेछ।

दोस्रो चरणमा सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, ठोरी र सोमेश्वर क्षेत्रका ३३६ वटा ग्रिडमा क्यामेरा राखिएको थियो। यस कार्यमा १५० जना तालिमप्राप्त गणकहरू खटिएका थिए। अब ती क्यामेराहरू स्थानान्तरण गरी तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जका बाँकी क्षेत्रमा बाघको फोटो खिच्ने काम सुरु गरिनेछ।

बाघ गणनाका लागि दुई वर्ग किलोमिटरको प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिन्छ। बाघ ओहोरदोहोर गर्ने बाटोमा राखिएका क्यामेराले खिचेका तस्बिरहरूबाट प्राविधिकहरूले बाघको शरीरमा हुने पाटाका आधारमा संख्या निर्धारण गर्छन्। प्रत्येक बाघको शरीरमा हुने पाटा मानिसको औँठाछाप जस्तो फरक हुने भएकाले एउटै बाघ दोहोरिने सम्भावना हुँदैन।

नेपालमा हरेक चार वर्षमा बाघ गणना हुने गरेको छ। यसपटक चितवन–पर्सा ब्लकसँगै बाँके, बर्दिया र शुक्लाफाँटामा पनि गणना भइरहेको छ। सन् २०२२ मा गरिएको पछिल्लो गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा १२८ र पर्सामा ४१ बाघ रेकर्ड भएका थिए। तीन महिना चल्ने यस गणनामा निकुञ्जका कर्मचारी, प्रकृति संरक्षण कोषका प्राविधिक र स्थानीय स्वयंसेवक सक्रिय छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *