श्रेणी : मधेस
जनकपुर,१३ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले उक्त मिति तोकेको हो।
गत असोज २९ गते पाँच दलीय समर्थनमा मुख्यमन्त्री बनेका सोनलले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरेका छन्। बैठकमा नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदहरू पनि सहभागी थिए। दुवै दलका एक–एक सांसदले सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका छन्।
सोनलको नेतृत्वमा रहेको गठबन्धनमा हाल जसपा नेपालका १८, जनमत पार्टीका १३, लोसपा नेपालका ८, नेकपा माओवादी केन्द्रका ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसदसहित ५५ जना सांसदको समर्थन छ। विश्वासको मतका लागि १०७ सदस्यीय प्रदेशसभामा ५४ मत आवश्यक छ भने तीन सांसद हाल निलम्बित छन्।
सत्ता गठबन्धनका नेताहरूले नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीको समर्थनपछि सरकारलाई ५८ मत पुग्ने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि दलहरूबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन र सरकारको काम प्रभावकारी बनाउन नयाँ योजना सार्वजनिक गर्ने तयारीमा मुख्यमन्त्री सोनल रहेको उनका निकट स्रोतले जनाएका छन्।

प्रतिक्रिया