वीरगन्ज :

संसद् विघटन जनताको सर्वोच्चतामाथि प्रहार हो : सांसद गौतम

श्रेणी : BANNER

3 days
Pradeep Sah
3.0kViews
1948 Shares

काठमाडौं,२६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् विघटनको प्रयास जनताको सर्वोच्चतामाथि प्रहार हुने चेतावनी दिएकी छिन्। बिहीबार साँझ सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले जेन–जी अभियानको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटन भने स्वीकार्य नहुने स्पष्ट धारणा राखिन्।

“जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद् हो। यसलाई विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पार्नु हो,” उनले भनिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजीनामा दिएपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ। संसद्, सर्वोच्च अदालत र सिंहदरबार परिसरमा जेन–जी अभियानकारीले उग्र प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका थिए।

त्यसपछि नेपाली सेनाले जेन–जीहरूलाई संवादमा आउन आह्वान गरेको छ। आजै प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्दै अभियानकारीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनको प्रस्ताव अघि सारेका छन्। काठमाडौंका मेयर बालेन्द्र शाहसहितका नेताहरूले पनि सो प्रस्तावलाई समर्थन गरेका छन्।

तर, सांसद गौतमले संसद् विघटनको विकल्पलाई खारेज गर्दै भनिन्, “कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन। जेन–जीसहितको संलग्नतामा अन्तरिम सरकार बनाउन सकिन्छ। तर संसदलाई कायम राख्नैपर्छ।”

उनले चुनावमार्फत जनताले चाहेको नेतृत्व ल्याउन सकिने भन्दै भ्रष्टाचारविरुद्ध जस्तै नेपालको व्यवस्था जोगाउन पनि आफू कटिबद्ध रहेको बताइन्।“सही मान्छे जनताले निर्वाचित गरेर पठाए भने कानुन बनाएर भ्रष्ट सम्पत्ति राष्ट्रियकरण गर्न सकिन्छ,” उनले थपिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *