श्रेणी : BANNER
काठमाडौं,२६ भदौ । भदौ २३ र २४ गते भएको जेन–जी अभियानको शक्तिशाली आन्दोलनले प्रधानमन्त्रीको राजीनामा र सरकारको पतन गराएपछि देश नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सुरु भएको यो आन्दोलन अब सत्ता परिवर्तन र दीर्घकालीन राजनीतिक निकास खोज्ने प्रक्रियामा पुगेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच निरन्तर संवाद भइरहेको छ। राष्ट्रपति कार्यालयका अनुसार दुबैबीचको छलफलले जेन–जी पुस्तालाई विश्वासमा लिएर सहमतिपूर्ण निकास दिने पहल भइरहेको छ। सेनापति सिग्देलले बुधबारै जेन–जी मुभमेन्ट अलायन्सका प्रतिनिधिसँग भेट गरेका छन् भने बिहीबार निर्णायक बैठक गर्ने तयारी भएको छ।
यसबीच, जेन–जी अभियन्ताहरूले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सार्ने माग गरेका छन्। सामाजिक सञ्जालमार्फत भएको बहसमा १० हजारभन्दा बढी युवाले कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
अभियानले अघि सारेका प्रमुख एजेन्डामा — प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, नयाँ पुस्ताको प्रतिनिधित्वसहितको संघीय संसद् निर्वाचन, २०४६ पछि पदमा बसेकाको सम्पत्ति छानबिन, भ्रष्टाचार मुद्दामा कठोर कारबाही, र सांसदलाई मन्त्री बन्न नदिने कानुनी व्यवस्था — सामेल छन्।
अभियन्ता दुर्गा प्रसाईं र धरानका मेयर हर्कराज साम्पाङले पनि सेनापतिसँग अलग–अलग भेट गरी आफ्नो धारणा राखेका छन्। प्रसाईंले “देशलाई निकास मिल्ने उपाय नै प्राथमिकता हो” भन्दै नेतृत्वमा लाग्ने सम्भावना अस्वीकार गरेका छन् भने साम्पाङले नयाँ पुस्ताले मुलुकको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन्।
राजनीतिक दलहरूले पनि औपचारिक प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा सुरु गरिएको संवाद प्रक्रियाको स्वागत गर्दै संविधानअनुसारै वैधानिक बाटो अपनाउनुपर्नेमा जोड दिएको छ। कांग्रेस नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले संयमता, शान्ति र सुशासनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
नेकपा (एमाले) ले भने वर्तमान अवस्थालाई ‘गम्भीर चुनौती’ का रूपमा चित्रण गर्दै राष्ट्रिय एकता र लोकतान्त्रिक प्रणालीको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान गरेको छ। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा “समालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु अहिलेको आवश्यकता हो” भनिएको छ।
विश्लेषकहरूका अनुसार, जेन–जी आन्दोलनले पुरानो राजनीतिक संरचना भत्काउँदै नयाँ युगको सुरुवात गरिदिएको छ। अब देश कुन बाटोतर्फ मोडिन्छ भन्ने प्रश्नमा सम्पूर्ण देशको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया