वीरगन्ज :

जनताको पक्षमा छैनन् ठूला दल : राजेन्द्र महतो

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
3.0kViews
1263 Shares

वीरगन्ज,०१ भदौ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेशकेन्द्रित दलहरू जनताको हितमा नरहेको आरोप लगाएका छन्। शान्तिगरस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले ठूला दलहरूको भूमिका कमजोर भएको बताएका हुन्। महतोले आफ्नो प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाको गहिरो समीक्षा गर्दै राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि वैकल्पिक आन्दोलन आवश्यक भएको निष्कर्ष निकालेका छन्।

उनले नेपाली कांग्रेसलाई विगतमा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेले पनि हाल दक्षिणपन्थी र दमनकारी शक्तिमा परिणत भएको आरोप लगाएका छन्। यस्तै, उनले एमालेलाई सत्तामा रहँदा निरंकुश प्रवृत्तिको अभ्यास गरेको र अहिले जनताबाट टाढिएको दलका रूपमा चित्रण गरेका छन्। एमाले नाममा कम्युनिष्ट भए पनि व्यवहारमा पुँजीवादी र अवसरवादी रहेको उनको दाबी छ।

माओवादीलाई सशस्त्र युद्ध र जनआन्दोलनमार्फत सत्तामा पुगे पनि वर्गीय र राष्ट्रिय सवालमा सम्झौता गर्दै प्रतिक्रियावादी शक्तिमा परिणत भएको आरोप उनले लगाए। त्यसैगरी, मधेशी दलहरूले २०६३र०६४ को मधेश आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले पनि अहिले सत्तामा मात्रै सीमित भएको र मधेशी जनताका वास्तविक मुद्दा उठाउन असफल भएको उनले बताएका छन्।

महतोले वर्तमान सरकार कानुनको शासन पालना गर्न असफल भएको, नयाँ कानुन निर्माणमा ढिलासुस्ती गरेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप पनि लगाएका छन्। उनले भूमिहीन किसान, मजदुर र सीमान्तकृत समुदायको समस्या समाधान गर्न प्रमुख दलहरू असफल भएको दाबी गरे। उनले लोकतन्त्र बचाउन र जनतामुखी शासन कायम गर्नका लागि फेरि एकपटक जनआन्दोलनमार्फत नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा छलफलपछि आगामी आन्दोलन र कार्यक्रमको कार्ययोजना सार्वजनिक गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *