
श्रेणी : प्रदेश
बुटवल,२८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं कारागारमा सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणअन्तर्गत गत चैत २५ देखि भैरहवाको जिल्ला कारागारमा थुनामा छन्। पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले मंगलबार कारागार पुगेर लामिछानेलाई भेटेका थिए।
उक्त भेटघाटका क्रममा उनले भैरहवा कारागारका सुविधा र सुरक्षा दुवै पक्षबाट अनुपयुक्त भएको औंल्याउँदै गृहमन्त्री रमेश लेखकलाई लामिछानेलाई काठमाडौं सरुवा गर्न आग्रह गरेका छन्।
लिङ्देनले भने, “देशको महत्वपूर्ण राजनीतिक दलको सभापतिलाई थुनामा राख्दा न्यूनतम सुविधा समेत दिन नसक्नु दुःखद छ। लामिछानेलाई आफूले रोजेको कारागारमा राखिनु उपयुक्त हुनेछ।”
रवि लामिछानेले कारागार स्थानान्तरणको लागि अदालतमा निवेदन दिएको थिएँ। अदालतले स्थानान्तरण गर्न आदेश दिइसकेको भए पनि गृह प्रशासनले काठमाडौंमा रविविरुद्ध मुद्दा रहेकाले स्थानान्तरण नगरेको बताएको छ।
रुपन्देहीको १९५० मा स्थापना भएको कारागारमा क्षमता भन्दा करिब तीन गुणा बढी ६२४ थुनुवा छन्। कारागार प्रमुख सुरेश भण्डारीका अनुसार रवि लामिछानेलाई छुट्टै राखिएको छ।


प्रतिक्रिया