वीरगन्ज :

सुख्खाबाट पीडित मधेशका किसानका लागि जसपाको ११ बुँदे माग

श्रेणी : मधेस

2 days
Pradeep Sah
1.7kViews
1255 Shares

वीरगन्ज,१८ साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) पर्साले मधेश प्रदेशमा देखिएको सुख्खा संकटको सन्दर्भमा सरकारको कामप्रति गम्भीर असन्तोष व्यक्त गर्दै प्रधानमन्त्री र मधेशका मुख्यमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

जसपाले सरकारले सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेज नल्याउनु ‘नालायकीपन’ भएको आरोप लगाएको छ। जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको ध्यानाकर्षण पत्रमा ‘सरकारको काम केवल घोषणामा मात्र सीमित छ। राहतको कुनै ठोस नीति वा बजेट छैन। यस्तो अवस्थामा सर्वसाधारणको जीवन अत्यन्तै कष्टकर बनेको छ।’ उल्लेख गरिएको छ ।

पार्टीको कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लका प्रशासन कार्यालयमार्फत संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष यादवले जानकारी दिए । जसपा नेपालले सुख्खाग्रस्त क्षेत्रहरूमा अविलम्ब सिँचाइको प्रबन्ध मिलाउन, किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन र मल खाद्यको न्यायोचित वितरण गर्न माग गरेको छ। वीरगन्ज लगायत मधेश प्रदेशका विभिन्न सहर र ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको चरम अभावलाई तत्काल सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइएको छ।

यसका साथै, पार्टीले दीर्घकालीन रूपमा जल संकट समाधानका लागि चुरे वन क्षेत्रको संरक्षण र भूमिगत जल पुनर्भरणका लागि ठूला बहुउद्देश्यीय जलाशयहरू निर्माण गर्नुपर्ने माग राखेको छ। कृषि ऋण र कृषि यन्त्रमा सहुलियत तथा अनुदानको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ।

जसपाले चुरे दोहन हुनेगरी ढुङ्गा, गिट्टी, बालुवा झिक्ने र अवैध क्रसर उद्योगहरू तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ। अधुरा रहेका सिँचाइ र खानेपानी आयोजनाहरूलाई तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउन पनि माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *