
श्रेणी : अर्थ
बीरगन्ज,०३ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६, नगौल निवासी ५८ वर्षीय लखराज माझी, जो कलेजोको क्यान्सरबाट पीडित छन्,लाई आर्थिक सहयोग प्रदान गरिएको छ। जनहित मध्यवर्ती उपभोक्ता समिति, सिमराले माझीलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा वडा अध्यक्ष क्यामुदिन असारीले व्यक्तिगत तथा संस्थागत पहलबाट थप रु २५ हजार सहयोग उपलब्ध गराइएको जानकारी दिए। उनले वडाको तर्फबाट आगामी दिनमा पनि यथासम्भव सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
लामो समयदेखि क्यान्सरको पीडामा रहेका माझीले आर्थिक अभावका कारण भरतपुर क्यान्सर अस्पतालमा समयमा उपचार गराउन नसकेको गुनासो गरेका छन्। प्रारम्भिक उपचारको लागि उनले आफनो थोरै जमापूँजी र स्थानीय सहयोगीहरूबाट संकलित रकम प्रयोग गरेका थिए। तर अहिले अवस्था यस्तो बनेको छ कि दैनिक खानापानी जुटाउन समेत कठिनाइ भएको उनले बताएका छन्।
माझीले आफूसँग कुनै वैकल्पिक आय स्रोत नरहेको र बाँच्नका लागि अझै समयमै उपचार आवश्यक भएकाले सामाजिक तथा सहृदयी व्यक्तिहरूबाट थप सहयोगको अपिल गरेका छन्।


प्रतिक्रिया