श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज,२६ असार । अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै महत्त्वपूर्ण निर्णय गरेको छ। अब अध्यागमन क्षेत्रमा खादा, माला र कुनै संस्थाको पहिचान खुल्ने पोशाक तथा सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै भनेको छ कि अध्यागमन क्षेत्र अत्यन्त संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता वस्तुहरूको प्रयोगले सुरक्षा जोखिम बढाउनुका साथै अनावश्यक ढिलाइ गराउन सक्छ। यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूलाई लागू हुनेछ।
कुनै विशेष समूह, संगठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि रोक लगाइएको छ। यसको उद्देश्य कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न नदिनु र सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न नदिनु हो। कार्यालयले सबैलाई यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ। नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया