
श्रेणी : धर्म संस्कृति
जनकपुर,२५ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम र अयोध्यालाई आपसी पर्यटन मार्गबाट जोड्ने हो भने मधेश प्रदेशमा पर्यटक आगमनको संख्यामा क्रान्तिकारी वृद्धि हुने दाबी गरेका छन्।
जनकपुरधाममा मंगलबार सम्पन्न “पर्यटन प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम”को समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले भने, “यदि अयोध्या पुग्ने श्रद्धालु र पर्यटकमध्ये १० प्रतिशत मात्रै जनकपुरसम्म ल्याउन सक्यौं भने, नेपालमा हाल भित्रिने कुल पर्यटकसंख्याभन्दा धेरै मधेश प्रदेशमै आउनेछन्।”
उनले जनकपुरधाम आउने पर्यटकहरूलाई कम्तीमा ५ दिन मधेश प्रदेशका विभिन्न स्थल घुमाउने प्याकेज तयार गर्न आग्रह गरे। त्यस्तो प्याकेजबाट प्रदेशको सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाको प्रवर्द्धन हुने र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनको भनाइ थियो।
मुख्यमन्त्री सिंहले भारतीय पर्यटकहरूको सहज आगमन सुनिश्चित गर्न डिजिटल भन्सार तिर्ने व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गरे।”भारतीय नागरिकले अनलाइनमै नेपाल प्रवेशको अनुमति र आफ्नो सवारीसाधनको भन्सार तिर्न सक्ने व्यवस्था भयो भने उनीहरूले नेपालमा थप दिन सहजै घुम्न सक्नेछन्,” उनले बताए।
मुख्यमन्त्री सिंहले धनुषाधाममा रामायणमा उल्लेखित १३६ वटा बोट–विरुवा राखेर ‘रामायणवाटिका’ निर्माण गरिने योजना पनि सार्वजनिक गरे। यो परियोजना धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा मधेश प्रदेशका पर्यटन व्यवसायी, मन्त्रालयका पदाधिकारी, होटल व्यवसायी, पत्रकार महासंघका प्रतिनिधि तथा पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया