
श्रेणी : अपराध
जनकपुर,१७ असार । धनुषा प्रहरीले लागूऔषध ओसारपसार र ब्ल्याकमेलिङ प्रकरणमा संलग्न दुई फरक अभियुक्तलाई सार्वजनिक गरेको छ।
धनुषामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले जनकनन्दिनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँध सडकखण्डमा चेकजाँचका क्रममा लागूऔषधसहित एक युवकलाई पक्राउ गरिएको जानकारी दिए। लागूऔषध ओसारपसार र ब्ल्याकमेलिङ प्रकरणमा संलग्न दुई फरक अभियुक्तलाई पर्नेमा सिरहा, कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुर रहेका छन्।
भारतको जयनगरबाट मलहनियातर्फ आइरहेको मोटरसाइकललाई चेकजाँच गर्दा तीनमध्ये एक जना फरार हुन खोजेपछि थप शंका लागेर खोजी गर्दा कृष्ण ठाकुरको साथबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने ४९.५९ ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, विद्युतीय माध्यम प्रयोग गरी ब्ल्याकमेलिङ गरेको आरोपमा धनुषाको औरही गाउँपालिका–५ का ३६ वर्षीय हनिफ नदाफलाई पक्राउ गरिएको छ। एसपी रेग्मीका अनुसार नदाफले दुई वर्षअघि सामाजिक सञ्जालमार्फत एक महिलासँग चिनजान गरी फोटो र भिडियोहरू इमो एपबाट आदानप्रदान गरेका थिए। पछि ती सामग्रीलाई सम्पादन गरी फेक अश्लील सामग्री बनाएर ती महिलालाई ब्ल्याकमेल गर्दै पाँच लाख रुपैयाँ असुली गरेको आरोप छ।
नदाफले आर्थिक लाभको उद्देश्यले पीडित महिलालाई मानसिक र शारीरिक यातना दिएको प्रहरीको दाबी छ। उनलाई जिल्ला अदालत धनुषाबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया