रौतहट,२७ जेठ । रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा कटहरिया नगरपालिका–१ भसेडवाका २० वर्षीय संजय साह रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए। उनी पनिलाल साहका छोरा हुन्। मोटरसाइकलमा संजयसँगै सवार २१ वर्षीय राजन ठाकुर सोही स्थानका हुन्, जसको अवस्था सामान्य छ।
घटनाकाे विवरण अनुसार, ना ६ त ८१०६ नम्बरको ट्याक्टर ईँटा बोकी दुद्यीयाभार चौक नजिक कालोपत्रे सडकमा बिग्रिएर रोकिने क्रममा थियो। यही अवस्थामा राति करिब १० बजे गरुडाबाट भसेडवातर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर डाक्टरले संजयलाई मृत घोषणा गरे।
प्रहरीले मोटरसाइकल र ट्याक्टर दुबैलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टरको चालक र मालिकको खोजी कार्य जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया