
श्रेणी : BANNER
काठमाडौँ । अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा सहकार्य र तयारीबारे सैनिक मुख्यालयमा बिहीबार चारै सुरक्षा निकायका प्रमुखहरूबीच परामर्श भएको छ।
जंगी अड्डाले जारी गरेको वक्तब्य अनुसार नेपाली सेनाका सैनिक उच्च अधिकृतहरूको समेत सहभागितामा उक्त छलफल भएको थियो। समसामायिक तथा समग्र सुरक्षा अवस्थाको समीक्षाको साथै निर्वाचनमा सुरक्षा अवलम्बन कसरी गर्ने र त्यसमा कहाँकहाँ चुनौती छ त्यसलाई नियालेर थप समिक्षा गर्ने विषयमा पनि छलफल भएको थियो।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९’ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको हो । छलफलमा आ-आफ्नो निकायबाट आएको सूचनाहरूको पनि समिक्षा भएको थियो।
उनीहरूले खासगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरूमाथि नै छलफल गरेका थिए। केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्नेलगायत विषयहरूमा समेत छलफल भएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया