
श्रेणी : प्रदेश
काठमाडौं,१९ जेठ । सार्वजनिक यातायात ठप्प भएपछि यात्रुहरूलाई सहज आवागमन गराउन नेपाल प्रहरीले आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
यातायात व्यवसायीहरूले आह्वान गरेको बन्दका कारण राजधानीसहित विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध आएको छ। यसले सर्वसाधारणलाई गन्तव्यसम्म पुग्न समस्या भएपछि नेपाल प्रहरीले पहल गर्दै निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो।
बिहानैदेखि राइड सेयरिङ सेवा पठाओ, इन्ड्राभ, टुटल आदिका चालकहरूले अनलाइन प्लेटफर्म बन्द गरी अफलाइन ‘बार्गेनिङ’ गर्दै मनपरी भाडा असुल्न थालेको गुनासो व्यापक रूपमा आएपछि प्रहरीले यस्तो निर्णय गरेको हो।
प्रहरीको निःशुल्क बस सेवा प्रमुख चोकहरूबाट सञ्चालनमा ल्याइएको छ, जसले कार्यालय जाने कर्मचारीदेखि विद्यालयका विद्यार्थीसम्मलाई राहत पुगेको छ। यात्रुहरूबाट प्रहरीको यस कदमको स्वागत गरिएको छ।
सार्वजनिक सेवा प्रवाहमा अवरोध हुँदा राज्यले नागरिकको हितमा चालेको यस्तो सक्रिय कदमलाई सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।


प्रतिक्रिया