वीरगन्ज :

रसुवा बाढीपीडितका लागि महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार दिने

श्रेणी : अर्थ

51 minutes
Pradeep Sah
2.2kViews
1138 Shares

बीरगन्ज,१६ भदौ । बाराको महागढीमाई नगरपालिकाले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम कोषमा योगदान गर्नेछन्।

त्यस्तै, नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्। नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप ५ लाख रुपैयाँ उपलब्ध गराई कुल ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको यादवले बताए।

देश विपद्को चपेटामा परेका बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको मेयर यादवले बताए। उनले सहयोगका लागि जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै विपद्को समयमा तत्काल उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताए।

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न दीर्घकालीन रूपमा सुरक्षित बस्ती तथा बसोबासको व्यवस्था गर्नुपर्नेमा समेत यादवले जोड दिए।

यसैबीच, रसुवा बाढीपीडितका लागि बाराका अन्य स्थानीय तहले पनि सहयोग घोषणा गरेका छन्। हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकाले ११ लाख, निजगढ नगरपालिकाले ५ लाख र सुवर्ण गाउँपालिकाले ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *