श्रेणी : BANNER
वीरगन्ज, २५ भदौ । वीरगन्जका प्रतिष्ठित उद्योगपति सिताराम केडियाका छोरा संजय कुमार केडिया बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
राजेन्द्र प्रसाद तेलीले पर्सा जिल्ला अदालतमा दायर गरेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतका माननीय न्यायाधीश तीर्थराज केसीको एकल इजलासले केडियालाई दोषी ठहर गरेको हो।
यसअघि गत जेठ ७ गते भएको सुनुवाइमा अदालतले केडियासँग धरौटी माग गरेको थियो। मुद्दाको अन्तिम फैसला गर्दै अदालतले भदौ २२ गते केडियाविरुद्ध लगाइएको अभियोग दाबी पुग्ने ठहर गरेको हो।
केडिया सिद्धार्थ बैंकका पूर्व संस्थापक सेयरधनीसमेत हुन्। केडिया समूहको नेतृत्वमा रहेको उक्त बैंकको वीरगन्ज शाखाका लागि खरिद गरिएको जग्गाको विषयमा समेत विगतमा विवाद उत्पन्न भएको थियो।
बैंक शाखाका लागि त्रिभुवन राजमार्गमा पर्ने जग्गा खरिद गर्दा बोर्डको निर्णयलाई आधार बनाउँदै ठूलो आर्थिक चलखेल गरिएको आरोप केडिया परिवारमाथि लागेको थियो।
त्यसैगरी सरकारी (ऐलानी) जग्गा केडिया परिवारका सदस्यहरूको नाममा नामसारी गर्न कीर्ते सिफारिस गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो। उक्त उजुरीमा संजय केडियालाई समेत विपक्षी बनाइएको दाबी गरिएको छ।
बैंकिङ कसुर मुद्दामा भने पर्सा जिल्ला अदालतको फैसलाले केडियालाई दोषी ठहर गरेको छ। अदालतको उक्त फैसलासँगै आफूलाई प्रतिष्ठित उद्योगपति तथा व्यवसायीका रूपमा प्रस्तुत गर्दै आएका केडियाको व्यावसायिक छवि र विगतमा विवादमा आएका विभिन्न प्रकरण पुनः चर्चामा आएका छन्।

प्रतिक्रिया