वीरगन्ज,१६ भदौ । रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार जनप्रतिनिधिहरूको एक महिनाको तलब तथा भत्ताबापतको रकम, गाउँपालिकाको विपद् व्यवस्थापन कोष र कर्मचारीबाट प्राप्त हुने रकमलाई समेटेर ११ लाख रुपैयाँ सहयोग गरिनेछ।
गाउँपालिकाले तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा आवश्यक पर्ने सहयोगका लागि थप स्रोत परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ। आवश्यकताअनुसार विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष श्रेष्ठले विपद्बाट सिर्जित पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको बताए। बाढीपीडितको दुःखमा ठोरी गाउँपालिका र ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया