वीरगन्ज :

भोटेकोशी बाढीपीडितका लागि मधेस सरकारले दोस्रो चरणको राहत पठाउँदै

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.0kViews
1049 Shares

जनकपुर,१६ भदाै । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आज दोस्रो चरणको राहत सामग्री पठाउने भएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले बाढी प्रभावितका लागि थप राहत सामग्री पठाउने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्य रहेको थियो।

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग र समन्वयबारे छलफल भएको मन्त्री महतोले जानकारी दिए।

निर्णयअनुसार आज ७ हजार थान कम्बल र ७ सय थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ। बाढीका कारण विस्थापित परिवारको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारले थप सहयोग र समन्वय गर्ने जनाएको छ।

मन्त्री महतोका अनुसार प्रदेश सरकारले यसअघि पहिलो चरणमा ५५ लाख रुपैयाँ बराबरको राहत सहयोग पठाइसकेको छ। दोस्रो चरणमा कम्बल र टेन्ट पठाउने निर्णय भएको हो।

“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन लागेको हो। पहिलो चरणमा रु ५५ लाख पठाइएको थियो। अहिले कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भने।

उनका अनुसार प्रभावित क्षेत्रमा आगामी दिनमा थप राहत तथा सहयोग आवश्यक भए त्यसबारे मंगलबार बस्ने बैठकमा पुनः छलफल गरिनेछ।

बैठकले विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता सरकारको प्रमुख दायित्व भएको निष्कर्ष निकाल्दै राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र आवश्यकताअनुसार अघि बढाउन जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *