सुनसरी,३२ असार । पूर्वी नेपालमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पूर्वी पहाडी जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मुख्य र ४ वटा नहरका ढोका रहेका छन्।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि प्रारम्भिक जोखिमको संकेत मानिन्छ। यही कारण नियन्त्रण कक्षले रातो बत्ती बाल्नुका साथै रातो झण्डा फहराएर तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदी मिसिएर बनेको सप्तकोसी वर्षायाममा उग्र बन्दै जाने गरेको छ। असारदेखि भदौसम्म पर्ने भारी वर्षाका कारण यस नदीमा आउने बाढीले सुनसरी, सप्तरीलगायत तटीय क्षेत्रमा हरेक वर्ष डुबान र कटानको समस्या निम्त्याउने गरेको छ।
पानीको सतह अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुनसरी, सप्तरी तथा श्रीलंका टापु आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे थप ढोका खोल्ने तयारी रहेको तथा सुरक्षा निकायले नदीको अवस्थाको चौबीसै घण्टा निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया