वीरगन्ज :

पर्सामा सशस्त्र प्रहरीका ७ इकाइ अझै अस्थायी भवनमा आश्रित

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.9kViews
1893 Shares

बीरगन्ज,०८ जेठ । सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लामा सीमा सुरक्षा गर्ने उद्देश्यले १८ वर्षअघि स्थायी उपस्थिति जनाएको भए पनि अझै पनि ७ वटा इकाइ आफ्नै भवन र जग्गाविहीन अवस्थामा छन्।

जिल्लाका १७ वटा बोर्डर आउट पोस्ट (बीओपी) मध्ये १० मात्र आफ्नै जग्गा र संरचनाबाट सञ्चालन भइरहेका छन्। बाँकी ७ बीओपी मठमन्दिरको जग्गा, सरकारी कार्यालयको भवन वा अस्थायी स्थानमा सञ्चालन भइरहेका छन्।

प्राप्त विवरण अनुसार बीओपी सिर्सिया, ड्राइपोर्ट, प्रसौनीभाठा, पिडारीगुठी, महादेवपट्टी, तथा गुल्महरू वीरगन्ज र भिखमपुर अझै भाडा वा अन्य संस्थाको संरचनामा सञ्चालन भइरहेका छन्।

सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी सीमा सुरक्षा मात्र होइन, सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्नु पनि हो। तर स्थायी संरचना नहुनुका कारण खटिएका प्रहरी टोलीलाई परिचालन तथा सुरक्षामा चुनौती भइरहन्छ।

हाल प्रत्येक सीमा सुरक्षा गुल्ममा डीएसपीको कमान्डमा करिब ३० जनाको टोली खटिन्छ भने बीओपीहरूमा प्रहरी निरीक्षक वा सहायक निरीक्षकको नेतृत्वमा क्रमशः २५ र २० जना सुरक्षाकर्मी कार्यरत छन्।

सशस्त्र प्रहरी बल १३ नम्बर गणको मुख्यालय हाल वीरगन्ज चिनी कारखानाको जग्गामा अस्थायी रूपमा सञ्चालनमा छ। सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहका अनुसार आफ्नै भवन नभएका बीओपीहरूका लागि जग्गा खोजीको काम तीव्र पारिएको छ।

उनका अनुसार भिखमपुर गुल्म र बीओपी महादेवपट्टी तथा पिडारीगुठीका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

तर जिल्लाका ग्रामीण क्षेत्रमा नेपाल प्रहरीलाई सहजै जग्गा उपलब्ध गराइए पनि सशस्त्र प्रहरीका इकाइलाई भने प्राथमिकता नदिइने प्रवृत्ति अझै कायमै रहेको अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *