वीरगन्ज :

अबको प्राथमिकता मधेश प्रदेशको शिक्षा सुधार : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.2kViews
1206 Shares

जनकपुर,२१ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले अबको प्राथमिकता प्रदेशको शिक्षा क्षेत्रमा सुधार हुने बताउनुभएको छ। राजर्षिजनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जेएस मुरारका क्लेजको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेशको समृद्धि र विकासका लागि शिक्षा सुधार अनिवार्य रहेको जिकिर गर्नुभयो।

मुख्यमन्त्री सिंहका अनुसार देशभरका १० जिल्लामध्ये सातवटा जिल्लाहरू मधेश प्रदेशका रहेका छन्, जुन शिक्षामा अत्यधिक पछाडि छन्। यसले प्रदेशको समग्र विकासलाई चुनौती पुर्‍याएको उहाँले स्पष्ट पार्नुभयो। “शिक्षामा सुधार नगरी प्रदेशको समृद्धि र विकास सम्भव छैन,” मुख्यमन्त्री सिंहले भन्नुभयो।

शिक्षा क्षेत्रमा सुधारका लागि मुख्यमन्त्री सिंहले प्रदेशका आठवटै जिल्लाका विद्यालयहरूको अनुगमन गर्ने योजना बनाइएको पनि जानकारी दिनुभयो। यसका लागि गृहकार्य भइरहेको र स्थानीय तहसँग सहकार्य गरेर सुधारका कदम चाल्ने तयारी गरिएको उहाँले बताउनुभयो।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रको अनुगमनको अनुभव पनि साझा गर्दै, १५० अवैध अस्पतालहरू सञ्चालनमा रहेको पत्ता लागेको बताउनुभयो। यस विषयमा कानुनी प्रक्रिया मार्फत सुधारको काम जारी राखिएको र त्यसपछि शिक्षा क्षेत्रमा सुधारको कामलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।

जेएस मुरारका बहुमुखी क्याम्पसको उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले क्याम्पसको प्रगति र विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो। यस क्याम्पसमा बिबिए र बिसिए विषयका कक्षाहरू सुरु भएपछि, यस क्षेत्रमा रहेका विद्यार्थीहरूलाई अब बाहिर जानु नपर्ने स्थिति निर्माण भएको छ।

कार्यक्रममा संघीय प्रतिनिधि गङगा प्रसाद यादव, लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी, प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी, ललिता दास लगायतका प्रमुख व्यक्ति उपस्थित थिए। प्रमुख अतिथिहरूले क्याम्पसको स्थापनामा जारी सहकार्य र समर्थनको सराहना गर्दै, तीनै तहको सरकारको सहकार्यको महत्वमा जोड दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *