वीरगन्ज :

मधेश भवनमा सहिद परिवारको धर्ना, रोजगारी र स्वास्थ्य बीमाको माग

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.6kViews
1570 Shares

जनकपुर,२१ वैशाख । मधेश आन्दोलनका सहिद परिवारले रोजगारी, स्वास्थ्य बीमा र प्रतिष्ठान सदस्य नियुक्तिको माग गर्दै आइतबार मधेश भवनमा धर्ना दिएका छन्। मधेश प्रदेश सरकारअन्तर्गत गृह तथा सञ्चार मन्त्रालयको कार्यालय अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

बाराका सहिद चन्दन पट्टेलका बुबा अवधेशप्रसाद पट्टेलका अनुसार, विगत फागुनदेखि मधेशी सहिद प्रतिष्ठानमा रिक्त रहेका दुई सदस्य पदमा सरकारले हालसम्म नियुक्ति प्रक्रिया अघि बढाएको छैन। “मुख्यमन्त्री र मन्त्रीसँग पटक–पटक भेट हुँदा हप्ताभित्र समाधान गर्छौं भने पनि अहिले कुनै चासो देखिएको छैन,” उनले गुनासो गरे।

पट्टेलले प्रत्येक सहिद परिवारलाई स्थायी रोजगारी सुनिश्चित गरिनुपर्ने, सबैको स्वास्थ्य बीमा गरिनुपर्ने, र प्रतिष्ठानभित्रै मृत फेला परेका सदस्य रामनरेश रायको घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने माग समेत गरेका छन्।

उनको आरोप छ कि वर्तमान सरकारले “एक सहिद परिवार, एक रोजगार” कार्यक्रमलाई कमजोर बनाउँदै धेरैलाई मासिक तलबबाट हटाएर दैनिक ज्यालादारीमा राखेको छ।

उता, गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सहिद परिवारका मागप्रति सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका छन्। “सबै प्रक्रिया अघि बढाइएका छन्, तर केही समय लाग्न सक्छ,” उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *