श्रेणी : मधेस
रौतहट,१४ वैशाख । मालपोत कार्यालय मौलापुर, रौतहटमा प्रमुख पदमा कौशलकिशोर झा हाजिर भएको एक साता बितिसक्दा पनि भूमिसम्बन्धी सेवा ठप्प छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट आवश्यक अख्तियारी नआएकाले मुद्दा मामिला, दाखिला खारेज, नामसारीजस्ता सेवा प्रभावित भएका हुन्।
कार्यालय प्रमुख झाले वैशाख ८ गते हाजिर भएको जानकारी विभागलाई गराइए पनि हालसम्म अख्तियारी नपाएको बताए। “अख्तियारी नपाएकै कारणले सेवाग्राहीलाई समस्या भएको छ,” उनले भने, “मुद्दा मामिला, दाखिला खारेज, नामसारीजस्ता काम रोकिएका छन्।”
सेवाग्राहीहरू दैनिक समस्या भोगिरहेका छन्। मौलापुर नगरपालिका–४ का अनिलकुमार साहले आवश्यक कामका लागि पटक–पटक कार्यालय धाउँदा पनि सेवा लिन नसकेको गुनासो गरे। कटहरिया नगरपालिका बिर्तिप्रस्टोकाका लालबाबु प्रसाद गुप्ताले आफ्नो जग्गा नामसारीका लागि कार्यालय धाउँदा अख्तियारी नआएको भन्दै निराशा व्यक्त गरे।
कार्यालय प्रमुख झाका अनुसार दैनिक पाँचदेखि सात जना सेवाग्राही निराश भएर फर्किन बाध्य छन्। उनले भने, “स्थानीय तहका कार्यालय मात्र होइन, केन्द्रमै ढिलाइ हुँदा सेवा अवरुद्ध भएको छ। हाजिर भएकै दिन अख्तियारी प्रदान गर्ने प्रक्रियामा गम्भीर ध्यान दिन जरुरी छ।”
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालले एक–दुई दिनभित्र अख्तियारी पठाउने तयारी भइरहेको जानकारी दिए। शाखा अधिकृतले प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेकाले विभागबाटै अख्तियारी प्रदान गरिन्छ।

प्रतिक्रिया