
श्रेणी : अपराध
बीरगन्ज,१० वैशाख । बाराको पथलैयामा प्रहरीले जाँचको क्रममा झण्डै ६ किलो अवैध चाँदी बरामद गरेको छ।
बीरगन्जबाट तुलसीपुर दाङतर्फ जाँदै गरेको यात्रुबसमा लुकाइछिपाई राखिएको उक्त चाँदी नियन्त्रणमा लिइएको हो। प्रहरी चौकी पथलैयाबाट प्रहरी निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा बा.प्र.३२५६ नम्बरको यात्रुबसलाई रोकेर जाँच गर्दा उक्त अवैध चाँदी फेला परेको
जाँचको क्रममा बसको क्याबिन सिटमुनी टेपले बेरिएको अवस्थामा रहेको एक कार्टुन शंकास्पद देखिएपछि खोल्दा त्यसमा रेडिमेड चाँदीका गरगहना फेला परेका थिए । उक्त चाँदी तस्करीको उद्देश्यले लुकाइएको आशंकामा प्रहरीले तत्काल बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार उक्त चाँदीको तौल करिब ६ किलो रहेको छ भने बजार मूल्य अनुमानित १० लाख ८० हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरगहनालाई आवश्यक प्रक्रिया अनुसार राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया