वीरगन्ज :

ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर आगलागी: एकै परिवारका तीनसहित चार जनाको ज्यान गयो

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.8kViews
1145 Shares

ताप्लेजुङ, ८ बैशाख – ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिका–१० अन्तर्गत गुन्द्रे र तेर्सैको बीचमा सडकमा झुकेको विद्युतको तार बोलेरो जिप (ना.१ ज ३०११) मा छोइएपछि जिपमा आगो लागेको हो। बिहान ४:५० बजेको समयमा भएको यस दुर्घटनामा गाडी चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा परेका जिप चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु निवासी ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुरबाट आएका तीर्थयात्री १६ वर्षीया आध्या आचार्य, उनका हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र हजुरआमा ६९ वर्षीया सरिता पौडेलको ज्यान गएको हो।

जिपमा सवार ४५ वर्षीया सविना (सन्ध्या) आचार्य गम्भीर घाइते भएकी छन् भने उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन्। सविनाको शरीरको अधिकांश भाग जलेको हुँदा उनलाई हेलिकप्टरमार्फत थप उपचारका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय पत्रकार वसन्त लिम्बूका अनुसार झुकेको बिजुलीको तारले जिपमा छोएपछि आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *