वीरगन्ज :

बीरगन्ज झडप प्रकरण : पाँच जना पक्राउ, ‘राज्यविरुद्धको कसुर’ र ‘आपराधिक उपद्रव’को मुद्दा दर्ता

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.5kViews
1582 Shares

बीरगन्ज,०४ वैशाख । बीरगन्जमा शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा भएको झडप र तोडफोड प्रकरणमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूविरुद्ध प्रहरीले ‘राज्यविरुद्धको कसुर’ र ‘आपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

पर्सा प्रहरी प्रमुख (एसपी) गौतम मिश्रका अनुसार पक्राउ परेकामाथि सामाजिक सद्भाव विथोल्ने उद्देश्यले गरिएको ढुंगामुढा, तोडफोड र आगजनी जस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रमाण भेटिएको छ।

शोभायात्रा पुग्दा झडप सुरु
घटना शनिबार, बीरगन्ज–२ छपकैयामा हनुमान जन्मोत्सवको शोभायात्रा पुगेसँगै दुई फरक धार्मिक समुदायबीच झडप भएको थियो। त्यसक्रममा स्थानीय पसल, सवारी साधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।

यी हुन् पक्राउ पर्ने व्यक्ति
पर्सा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार हालसम्म शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, शकिल मियाँ, रवि सर्राफ र बलजित सिंहलाई पक्राउ गरिएको छ। मंगलबार ४ जनालाई र बुधबार थप १जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका मध्ये तीन जनामाथि ‘राज्यविरुद्धको कसुर’ र बाँकी दुईजनामाथि ‘आपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दर्ता गरिएको लम्सालले जानकारी दिए।

६ दिनको म्याद थप
पक्राउ परेका पाँचै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान जारी छ। अनुसन्धानको क्रममा सिसिटिभी फुटेज, ड्रोनबाट खिचिएका दृश्यहरू र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरू विश्लेषण गरेर प्रहरी अनुसन्धान अगाडि बढाएको हो।

एसपी मिश्रले भने, “घटनासँग सम्बन्धित प्रमाणहरूका आधारमा पाँच जनालाई नियन्त्रणमा लिएका छौँ। थप संलग्नता देखिए अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरिनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *