
श्रेणी : अपराध
बीरगन्ज,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बीरगन्जमा हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा भएको साम्प्रदायिक झडपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्।
झडप भएको पाँच दिनपछि सार्वजनिक प्रतिक्रिया दिएका मुख्यमन्त्री सिंहले हिंसा र सामाजिक सद्भाव विथोल्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे। उनले प्रदेश सरकारले शान्ति सुरक्षाको अवस्थालाई प्राथमिकतामा राख्दै सुरक्षा निकाय र प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिएका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णका अनुसार, सिंहले झडपपछिको स्थिति नियाल्दै सर्वदलीय बैठकबाट तय भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान र कारबाही प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
सिंहले वीरगञ्जको धार्मिक, सांस्कृतिक र जातीय विविधतालाई शहरको पहिचान भन्दै, त्यसलाई भङ्ग गर्ने कुनै पनि प्रयासलाई चिन्ताजनक र निन्दनीय भनेका छन्। साथै, उनले सबै समुदाय र पक्षलाई संयमित, सहिष्णु र समझदारीपूर्ण व्यवहार गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री सिंहले शान्ति पुनःस्थापनाका लागि अग्रसर राजनीतिक दल, नागरिक समाज र सुरक्षा निकायको प्रशंसा गर्दै आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन सामूहिक उत्तरदायित्व आवश्यक भएको बताएका छन्।


प्रतिक्रिया