
श्रेणी : मधेस
बीरगन्ज,०३ वैशाख । बीरगन्जमा जारी साम्प्रदायिक तनावबारे आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारप्रति तीव्र असन्तोष प्रकट गरेका छन्। उनले सामाजिक सद्भाव र अमनचयन कायम गर्न संघीय सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष साहले पछिल्लो पाँच दिनदेखि बीरगन्ज अशान्त रहँदा पनि सरकार मौन बस्नु लज्जास्पद भएको बताएका छन्। “देशको आर्थिक राजधानी मानिने बीरगन्जमा लगातार कर्फ्यु र निषेधाज्ञाबीच जनता पीडामा छन्, तर सरकार कानमा तेल हालेर सुतिरहेको छ,” साहले लेखेका छन्।
उनले पर्साबाट तीन-तीन जना संघीय मन्त्री सरकारमा रहेको स्मरण गराउँदै भनेका छन्, “नेकपा एमालेका राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र जसपाका प्रदीप यादव खानेपानी मन्त्री हुन्। तर तिनै मन्त्रीसहित प्रधानमन्त्री पनि यो संकटप्रति गम्भीर देखिएका छैनन्।”
साहले सरकारलाई घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन विशेष पहल गर्न आह्वान गरेका छन्। उनले सामाजिक सद्भाव बिग्रन नदिने जिम्मेवारी राज्यको भएको स्मरण गराउँदै यथाशीघ्र कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया