वीरगन्ज :

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, पूर्वमुख्यमन्त्री राउतका फाइल नियन्त्रणमा

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.4kViews
1412 Shares

बीरगन्ज,२० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेर पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भएका विभिन्न योजनासम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ।

विशेष गरी स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदमा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले ती योजनासँग सम्बन्धित कागजातहरू सङ्कलन गरेको हो। स्रोतका अनुसार, आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मका ठूला परियोजनाका फाइलहरू अनुसन्धानको दायरामा परेका छन्।

स्वच्छता अभियानमा अनियमितता भएको गुनासो बढेपछि तत्कालीन मुख्यमन्त्री राउतले उक्त कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए। अख्तियारले अभियानका दुई वर्षका सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ।

सफ्टवेयर खरिदसम्बन्धी अनुसन्धानमा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम खरिद प्रक्रियामा अनियमितता देखिएको छ। करिब एक करोड रुपैयाँमा खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म प्रयोगमा नआएको पाइएपछि अख्तियारले अनुसन्धान थालेको हो।

यस्तै, सुरक्षा उपकरण खरिद प्रक्रियामा पनि अनियमितताको आशंका गर्दै अख्तियारले सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार, तीन महिनाअघि परेको उजुरीका आधारमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको हो।

राउत नेतृत्वको सरकारले सुरु गरेका बेटी पढाउ, बेटी बचाउ कार्यक्रम र स्वच्छता अभियान प्रारम्भमा चर्चित भए पनि, पछि साइकल खरिद प्रक्रियामा भ्रष्टाचार देखिएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। अहिलेका नयाँ अनुसन्धानले उनको कार्यकालका थप परियोजनाहरूमा अनियमितता भएको देखाउने संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *