दाङ,२७ फागुन । मुलुकभर गाँजासम्बन्धी बहस चलिरहेका बेला दाङमा ठूलो मात्रामा चरेससहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङ र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँकेको संयुक्त टोलीले २९ किलो ६९५ ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चरेसलाई आलु बोकेको बोराभित्र लुकाएर ओसारपसार गर्न खोजिएको थियो। घोराही-होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१३, बाह्रकुने दह नजिकै विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रुकुमपूर्व, भूमे गाउँपालिका-२, खावाङ निवासी ४४ वर्षीय फर्कबहादुर घर्ती, ५३ वर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन्।
हाल पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया