वीरगंज, १२ फागुन – नेकपा एमालेका युवा नेता एवं पटेर्वा सुगौली गाउँपालिका पर्साका पूर्व गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी पार्टी परित्याग गर्ने मनसायमा पुगेका छन्। उनले संचारकर्मीलाई एक प्रेस नोट पठाउँदै पार्टीका केही नेताहरूको मनोपाली, स्वार्थी व्यवहार र पक्षपाती राजनीतिक गतिबिधिका कारण आफू पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताएका छन्।
उनले जारी गरेको प्रेस नोटमा लेखेका छन्, “म सबैमा जानकारी गराउन चाहन्छु कि म नेकपा एमाले परित्याग गर्ने निर्णयमा पुगेको छु। यो निर्णय सहज भने छैन, तर केही नेताहरूको निहित स्वार्थमा लिप्त व्यवहार, पक्षपाती राजनीतिक गतिविधि, र अनुचित विभेदले गर्दा म निराश भएको छु। पार्टीभित्र न्याय, समानता, र पारदर्शिताको अभाव देख्दै आएको हुँदा मेरो राजनीतिक यात्रा स्वतन्त्र रूपमा अगाडि बढाउने निश्चय गरेको छु।”
“म यो प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण जनसमुदाय, शुभचिन्तक, र समर्थकहरूलाई जानकारी गराउन चाहन्छु कि आगामी दिनहरूमा म कुनै पनि पार्टीगत दबाब वा पूर्वाग्रहबाट मुक्त रही जनताको आवश्यकताअनुसार सकेको सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु।”
युवा नेता चौधरी नेकपा एमाले पर्सा क्षेत्र नं. ३ का पूर्व क्षेत्रीय अध्यक्ष समेत थिए। उनी नेकपाकै टिकटबाट यसअघि पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो पटक भएको निर्वाचन भने पार्टीका नेताहरूको गद्दारीका कारण आफू हारेको भन्दै असन्तुष्टि पोख्दै आएका थिए।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वभर शर्माले भने यस विषयमा पार्टीलाई कुनै आधिकारिक जानकारी नआएको बताए। उनले हरिनारायण चौधरीजीले पार्टीमा कुनै गुनासो नगर्नु भएको र पार्टी परित्याग गर्ने बारेमा जानकारी पनि नगराएको बताए।
वहाँसँग आफुले पटक-पटक भेट गर्ने प्रयास गरेको बताउँदै पार्टीको विषयमा कुनै असन्तुष्टि भए वसेर कुराकानी गर्ने तथा समस्या समाधान गर्ने बारेमा आफूहरू गम्भीर रहेको अध्यक्ष शर्माले वताए।

 
     
						 
     
     
									 
									 
									 
									 
									 
         
        
प्रतिक्रिया