वीरगन्ज :

सर्वोच्चको आदेशविपरीत तीन दर्जन पालिकामा ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.5kViews
1061 Shares

काठमाडौँ,०१ फागुन । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि २०८० देखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो ।
सर्वोच्चको आदेशपछि संघ सरकारले बिदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा गरिएको छ । बिदाका लागि ती पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएका छन् ।

माओवादी सशस्त्र विद्रोहको आधार इलाका मानिएको रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो । रोल्पाका त्रिवेणी, रुन्टीगढी र गंगादेव गाउँपालिकामा भने बिदा दिइएको छैन । त्रिवेणीमा एमालेले तथा रुन्टीगढी र गंगादेवमा कांग्रेसले अध्यक्ष पद जितेको छ ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले सांस्कृतिक, खेलकुद र अन्य कार्यक्रम आयोजना गरेर बिदा मनाउने निर्णय गत माघ ९ को कार्यपालिका बैठकले गरेको जानकारी दिए ।

उनका अनुसार सशस्त्र द्वन्द्वका बेला पालिकाभित्र राज्यपक्षले १ सय ८२ र तत्कालीन विद्रोही पक्षले २५ गरी २ सय ७ जनाको ज्यान लिएका थिए । सुनछहरीमै पर्ने जेलबाङमा मात्रै राज्य र विद्रोही दुवै पक्षका कारण ७३ जनाको ज्यान गएको थियो ।

रोल्पाकै सुनिलस्मृति गाउँपालिकाले माघ १८ मा गरेको निर्णयअनुसार फागुन १ मा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालले बताए । रोल्पामै परिवर्तन गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा ‘रचनात्मक कार्यक्रम’ गरेर मनाउन वडा तहसम्मलाई आह्वान गरिएको पालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *