बीरगन्ज,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि (बुद्धिप्रसाद) पन्तले प्रदूषणका कारण दुर्गन्धित बनेको सिर्सिया नदीलाई पुनर्जीवन दिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पथलैया–बीरगन्ज औद्योगिक करिडोरका उद्योगबाट निस्कने रासायनिकयुक्त फोहोर पानी प्रशोधन नगरी सिधै नदीमा मिसाइँदा सिर्सिया नदी नालामा परिणत भएको बताए। उद्योगहरूको लापरबाहीका कारण नदीको अवस्था दिनप्रतिदिन विकराल बन्दै गएको उनको भनाइ थियो।
सांसद पन्तले एक समय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिर्सिया नदी अहिले छठ पर्वमा समेत दुर्गन्धका कारण प्रयोग गर्न नसकिने अवस्थामा पुगेको उल्लेख गरे। नदी प्रदूषित हुँदा लामखुट्टेको प्रजनन बढेर आसपासका बासिन्दाको जनजीवन समेत प्रभावित भएको उनले बताए।
उनले विगतका संघीय, प्रदेश र स्थानीय सरकारले सिर्सिया नदी संरक्षणलाई चुनावी एजेन्डामै सीमित राखेको आरोप लगाउँदै वर्तमान सरकारले भने नदीको संरक्षण र पुनर्जीवनका लागि शीघ्र ठोस र प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया