
श्रेणी : प्रदेश
काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई ६ वटा अध्यादेशलाई समर्थन गर्न मधेश प्रदेशको मुख्यमन्त्रीको शर्त राखेको छ। नेपाली कांग्रेसका एक शीर्ष नेताले जानकारी दिएका अनुसार, जसपाले मधेशको मुख्यमन्त्री पदको आश्वासन पाएपछि अध्यादेशमा मत दिने सहमति बनाएको छ ।
कांग्रेसका नेताले भनिन्, “सभापति देउवा र प्रधानमन्त्री ओली मिलेर कहाँ के गर्ने निर्णय गर्छन्, मधेशको मुख्यमन्त्री पदको बारेमा सकारात्मक छलफल चलिरहेको छ ।”
बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश पारित गर्ने कार्यसूची बनाएको थियो। प्रतिनिधिसभाबाट अध्यादेश पारित हुने सम्भावना बलियो भएपनि राष्ट्रियसभामा जसपा नेपाल निर्णायक भूमिका खेल्दैछ ।
जसपा नेपालका नेताले भने, “संघ र प्रदेशको सरकारमा हामी सहभागी हुनुपर्ने हो, जसलाई विश्वासको मत दिएका दललाई सरकारमा ल्याउनु पर्ने हो ।”
बिहीबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। सो छलफलमा यादवले आफ्नो दललाई मधेशको मुख्यमन्त्री दिने शर्तमा अध्यादेशमा सहमति दिन प्रस्ताव राखेका थिए ।
जसपा नेपालको संसदीय दलको बैठक जारी रहेको छ, जसबाट छलफल गरी अध्यादेशको समर्थन गर्ने निर्णय लिन सकिने बताइएको छ ।

प्रतिक्रिया