वीरगन्ज :

बैंकले सस्तो मूल्यमा जग्गा लिलामी गरेको भन्दै स्थानीयहरू आक्रोशित

श्रेणी : कृषि

4 weeks
Pradeep Sah
1.6kViews
1014 Shares

जनकपुर,२६ पुस । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तो मूल्यमा लिलामी गरेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। बिहीबार प्रदर्शनकारीहरूले टायर बाल्दै पूर्वपश्चिम राजमार्ग चार घण्टासम्म अवरुद्ध पारेका थिए।

प्रदर्शनका क्रममा बैंक कार्यालयमा ढुङ्गामुढा भएको र प्रहरीसँग झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले आन्दोलन नियन्त्रण गर्न १० राउन्ड अश्रुग्यास र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए। झडपमा १० भन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको अवस्थाबारे यकिन विवरण आउन बाँकी छ।

स्थानीय किसान रामचन्द्र यादवले आफ्नो ७.५ धुर जग्गा धितो राखेर ३० लाख ऋण लिएका थिए। चार वर्षमा १९ लाख ९२ हजार तिर्दासमेत बैंकले ८० लाख मूल्याङ्कन गरिएको जग्गालाई ६५ लाखमा घटाएर मात्र ३५ लाखमा लिलामी गरेपछि उनी अन्यायमा परेको बताएका छन्। यादवका अनुसार सो जग्गा चलनचल्तीमा १ करोड ४५ लाख मूल्यको थियो।

पुस ११ गते बैंक र ऋणीबीच लिलामी रोक्ने र कानुनी प्रक्रियाबाट जग्गा फिर्ता गर्ने सहमति भएको भए पनि कार्यान्वयन नभएको भन्दै आन्दोलन चर्किएको हो। जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदाले बैंकले सहमति पालना नगरेको र जग्गाको मूल्याङ्कनमा गडबडी भएको बताए।

राष्ट्र बैंक जनकपुरका प्रमुख माधव दङ्गालका अनुसार ऋणीले २०७९ सालदेखि सावाँ र ब्याज नबुझाएको कारण बैंकले कानुनी प्रक्रिया पूरा गरी लिलामी अघि बढाएको हो। उनले समस्या समाधानका लागि कानुनी प्रक्रिया अपनाउन सुझाव दिएका छन्।

पीडित यादवले आफूहरू न्याय खोज्दै आन्दोलनमा उत्रिएको र सरकारले उनीहरूको पक्षमा कदम उठाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *