वीरगन्ज :

जसपा पर्साद्वारा धानवाली आगजनीप्रति दुःख व्यक्त, सत्यतथ्य छानबिनको माग

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.1kViews
1706 Shares

वीरगंज, १० पुस । जसपा पर्साका अध्यक्ष सिंगासन साह तेलीले वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा ३ सय क्युन्टलभन्दा बढी धान क्षति हुने गरी भएको आगलागी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष तेलीले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय प्रशासनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न जोड दिए। उनले यस्तो निन्दनीय घटनामा कुनै पनि प्रकारको राजनीति नगर्न सबैलाई अपील गरे। नेपालपोस्ट डेलीसँगको कुराकानीमा तेलीले दोषी जोसुकै भए पनि कानूनी कारबाहीबाट उम्कन नहुने बताए।

त्यसैगरी, जसपा पर्साका युवा नेता तबरेज अहमदले घटनामा बिना प्रमाण आफ्नो पार्टीका मन्त्रीलाई जोडेर गरिएको टिप्पणीप्रति आक्रोश व्यक्त गरे। उनले घटनाको छानबिन हुनु पर्ने भन्दै यस्तो अमानवीय कार्यमा जसपा पर्साको कुनै समर्थन नरहेको स्पष्ट गरे। साथै, पार्टीलाई बदनाम गर्ने उद्देश्यले कसैले नेता कार्यकर्तालाई निशाना बनाउन खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए।

जसपा पर्साका सचिव उमेश सहनीले पनि बिना प्रमाण कसैमाथि आरोप लगाउनु गलत भएको बताए। उनले घटना अमानवीय रहेको भन्दै दोषीमाथि कारबाहीको माग गरे। तर विना प्रमाण कसैलाई दोष लगाउनु अनुचित भएको उल्लेख गर्दै प्रहरी छिट्टै सत्यतथ्य सार्वजनिक गर्नेमा आफू आशावादी रहेको बताए ।

पर्साको वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा रहेको हरेन्द्र प्रसाद यादवको खेतमा एक ठाउँमा जम्मा गरि राखिएको धानमा पुस ६ गते राति आगजनी भएको थियो । आगलागीबाट करिब साढे तीन बिघा क्षेत्रफलमा फैलिएको धान जलेर नष्ट भएको र ३ सय क्युन्टलभन्दा बढी धान जलेको पीडित परिवारले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार कसैले आगो लगाएको वा बटुवाले फालेको चुरोटको ठुटाबाट आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ। पीडित परिवारले भने रिसइबीका कारण कसैले आगो लगाएको हुन सक्ने आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको छानबिन गरिरहेको र शंकास्पद व्यक्तिहरूलाई बोलाएर सोधपुछ भइरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको छैन भने घटनाबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *