वीरगन्ज :

मन्त्री यादवको पहल पश्चात दक्षिणकालीले पठायो ललितपुरमा पानी

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.9kViews
1636 Shares

काठमाडौँ, १९ असोज । खानेपानी मन्त्री प्रदीप यादवको विशेष आग्रहपछि दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको मुहानबाट ललितपुरका नागरिकहरूको लागि पानी आपूर्ति गरेको छ । मन्त्री यादवले शनिवार दक्षिणकालीका जनप्रतिनिधि र स्थानीय नागरिकहरूसँगको बैठकमा ललितपुरमा खानेपानी अभावलाई मध्यनजर गर्दै पानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका थिए । यसपछि दक्षिणकाली नगरपालिकाले आफ्नो कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भैँसेपाटी ट्याङ्कीमा पानी पठाएको हो ।

केयुकेएल भैँसेपाटीका कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्री यादवको दिनभरको प्रयासपछि भैँसेपाटी ट्याङ्कीमा पानी झर्न थालेको र अब चाँडै ललितपुरका बासिन्दालाई पानी वितरण सुरु गरिने जानकारी दिए । उनले यस पहलले दसैँको समयमा ललितपुरमा खानेपानीको सङ्कटलाई केही हदसम्म कम गर्ने विश्वास व्यक्त गरेका थिए । खानेपानी मन्त्रालयकी सचिव प्रमिल देवी शाक्य बज्राचार्यले दक्षिणकाली नगरपालिकाले तत्काल दसैँसम्मका लागि पानी आपूर्ति गर्ने बताउँदै दसैँपछि ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, र केयुकेएलबीच बैठक बसेर दीर्घकालीन समाधानका लागि आवश्यक लागत अनुमान तयार पारिने र आवश्यक कार्यहरू अघि बढाइने जानकारी दिए । पानी आपूर्तिको दीर्घकालीन व्यवस्थापनको लागि सम्झौता पत्र तयार गरी हस्ताक्षर गरिने उनले बताए ।

मन्त्री यादवले दक्षिणकालीमा स्थलगत निरीक्षण गर्दै बाढी पहिरोका कारण उत्पन्न समस्याहरूको बारेमा चासो व्यक्त गरेका थिए । उनले दक्षिणकालीका जनप्रतिनिधिहरूसँगको संवादमा दक्षिणकालीका बाढी प्रभावित नागरिकहरूको समस्या आफूले राज्यको प्रतिनिधिका रूपमा गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका थिए । खानेपानीका संरचनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षतिको मर्मत र पुनर्निर्माणका लागि उनले मातहतका निकायहरूलाई तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको जानकारी गराउँदै बाढीले प्रभावित स्रोतहरूको मर्मत कार्य चाँडै नै सम्पन्न हुनेमा विश्वास दिलाए ।

मन्त्री यादवले बाढी र पहिरोले पुर्‍याएको क्षति र समस्याहरू समाधान गर्न स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए । उनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गरी स्थानीय जनताका लागि खानेपानी समस्या समाधानमा ध्यान दिने उल्लेख गरे । साथै, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि योजना तयार गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री यादव शनिवार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनः स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी पनि लिएका थिए । सोही क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गरेका थिए ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग पनि छलफल पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *