वीरगन्ज :

छिपहरमाई कार्यालयमै मस्त निद्रामा कर्मचारी, अध्यक्ष गुप्ताको लापरवाहीले पालिका अस्तव्यस्त

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.1kViews
1530 Shares

वीरगंज (पर्सा), २१ भदौ । पर्साको छिपहरमाई गाउँपालिका अहिले भद्रगोल अवस्थामा पुगेको छ । गाउँपालिका अध्यक्ष मनोज गुप्ताले आफ्नो अनुकुल काम गराउन खोजेपछि जहिलेपनि अधिकृत भाग्ने परिपाटीले गाउँपालिका कार्यालय अहिले भद्रगोल अवस्थामा पुगेको हो । जहिलेपनि अधिकृत विहीन रहेको गाउँपालिका कार्यालयका अन्य कर्मचारीहरु पालिकाको कामकाज भन्दा पनि सुतेर दिन विताउने गरेका छन् ।

तस्विरमा देखिएको व्यक्ति हुन् छिपहरमाई गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी बाली महतो । उनी गाउँपालिका अध्यक्ष मनोज गुप्ताका विश्वासिलो पात्र हुन् । पद कार्यालय सहयोगी भएपनि उनको रवाफ अधिकृत भन्दा कम छैन । उनको काम हो दर्ता चलानी गर्ने तर उनी पालिकामा कार्यरत अन्य कर्मचारीहरुलाई जहिलेपनि गाउँपालिका अध्यक्ष गुप्ताको धाकमा धर्काउने गरेका छन् ।

सायद यही कारणले उनी जे गरेपनि कोही बोल्ने, खोज्नेवाला छैन । उनी दिनहुँ कार्यालयमा आएर प्रशासन शाखामा डिउटीकै समयमा मस्त निन्द्रा सुत्छन् । उनको यो दैनिकी कार्य भइसकेको छ । गाउँपालिका अध्यक्ष गुप्ताको आशिर्वादले उनी कार्यालयमा ड्उिटी गर्दैनन्, आफ्नो कुर्सीमा बसेर सुत्छन्, कार्यालय समय वितेपछि घर फर्कन्छन् । यो त उदाहारण मात्रै हो, त्यहाँ कार्यरत अध्यक्षका विश्वासिलो पात्रदेखि अधिकाँश कर्मचारी कार्यालयमा समय विताउन मात्रै आउने गरेका छन् ।

अध्यक्ष गुप्ताको चरम लापरवाहीको कारण कार्यालय नै अस्तव्यस्त बनेको छ । पालिकाको विकास निर्माणको कामदेखि सबै काम ठप्प छ । कारण हो, जहिलेपनि प्रमुख प्रशासकीय अधिकृत त्यहाँबाट सरुवा गरेर जाने । जुनसुकै कार्यालय प्रमुख हाजिर भएपनि पालिका प्रमुख गुप्ताले आफ्नो अनुकुलको व्यक्तिहरुलाई बजेट दिन, भुक्तानी गर्न जबरजस्ती गर्ने गरेको कारण त्यहाँ ३ महिनापनि कार्यालय प्रमुख टिक्ने गरेका छैनन् ।

विकास निर्माणको ठेक्काहरु आफ्नो नातेतार, आसेपासेलाई जबरजस्ती दिन लगाउने, त्यसबाट कमिशन बुझ्ने, कमसल काम गराउने अथवा अधुरै निर्माण कार्य गराएर भुक्तानीको लागि प्रमुख प्रशासकीय अधिकृत देखि लेखा प्रमुखलाई दबाब दिने, भुक्तानी नगरे विवाद गर्ने, सरुवा गराउने जस्ता कामहरु गर्ने गरेको कारण छिपहरमाई गाउँपालिका जहिलेपनि अस्तव्यस्त नै रहने गरेको छ । गाउँपालिकाको विकास निर्माणको अधिकाँश काम उनकै बाबा, चाचा, भाई, भतिजहरुले गर्ने गरेका छन् ।

केही दिन अघि मात्रै छिपहरमाई गाउँपालिकामा जडान गरिएको सोलार बत्ती योजनामा करोडौं भ्रष्टाचार भएको पाइएपछि प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी रोकेर टेण्डर नै खारेज गरेका थिए । त्यही योजनाको रकम भुक्तानी गराउनका लागि आफ्नो अनुकूल प्रमुख प्रमुख प्रशासकीय अधिकृत ल्याएका पालिका अध्यक्ष गुप्ताले अर्को ८६ लाखको योजनाको भुक्तानी नगरेपछि उनलाई पनि सरुवा गराएका थिए । भुक्तानी नगरकै एकजना लेखा प्रमुखलाई कार्यालयभित्र झापड समेत हानेको घटनाहरु बहिरिएको थियो ।

अध्यक्ष गुप्ता दोश्रो पटक निर्वाचित भएपछि पालिकाको बजेट कसरी आफ्नो घरमा थुपार्ने कार्यमा केन्द्रित भए । विकास निर्माणको कार्यहरुको गोप्य टेण्डर आह्वान गर्ने, भित्रभित्रै योजनाहरु आफ्नो चाचा, भाई, भतिजहरुलाई दिएर कमशल काम गराई जबरजस्ती भुक्तानी गराउने उनकै बानी नै छ । यही कारणले गर्दा त्यस गाउँपालिकामा कुनैपनि प्रमुख प्रशासकीय अधिकृत जानै मान्दैनन् । पालिका प्रमुखले आफ्नो हैसियतभन्दा बढि दबदबा जमाउन खोजेपछि कुनैपनि कार्यालय प्रमुख त्यहाँ टिक्ने गरेका छैनन् जसको कारण त्यहाँ कार्यरत अन्य तल्लो तहको कर्मचारीहरु मोज गरि रहेका छन् ।

स्थानीय तहको दोश्रो निर्वाचनपछि निर्वाचित भएका अध्यक्ष गुप्ताले गर्ने गरेको काला कर्तुत, भ्रष्टाचारको पटक पटक उजागर हुँदै आएको छ तर उनी कारवाहीबाट उम्किने गरेका छन् । पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले छापामारी गरि उनको फर्जी काम भेटाएपनि उनीलाई कारवाही गर्न सकेको छैन । छिपहरमाई गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *