
श्रेणी : BANNER
वीरगंज (पर्सा), ५ साउन । चौधरी गु्रपद्वारा बाराको परवानीपुर स्थित संचालित ‘दिल्ली पब्लिक स्कल’ ले शिक्षाको आडमा तस्करी धन्दा गर्ने गरेको रहस्य बाहिरिएको छ । वीरगंज लगायत भारतीय सीमावर्ती सहर रक्सौलको बालबालिकाहरु पनि अध्ययन गर्ने सो स्कुलले विद्यार्थी छोड्न र ल्याउनका लागि संचालन गरेको बसमा तस्करी धन्दा गर्ने गरेको रहस्य बाहिरिएको हो ।
स्कुल बस हेर्ने वित्तिकै झट्ट प्रहरीले चेकजाँच समेत गर्दैनन् । त्यही मौका छोपी स्कुलले शिक्षाको आडमा तस्करी धन्दा गर्ने गरेको शुक्रबारको घटनाले पुष्टि गरेको छ । शुक्रबार दिल्ली पब्लिक स्कुलले गर्ने गरेको तस्करी कार्यलाई सशस्त्र प्रहरीले भण्डाफोर गरिदिएको छ । वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको टोलीले भन्सार छलीका समान ल्याउदै गरेको स्कुल बससहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर स्थित संचालनमा रहेको दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने प्रदेश २-०३-००१ क ०११६ नम्बरको स्कुल बसबाट भन्सार छलीको समान बरामद भएपछि सशस्त्र प्रहरीले बस सहित चालक र सह चालकलाई नियन्त्रणमा लिएको हो ।
स्कुलमा अध्यायनरत रक्सौल बिद्यार्थीहरुलाई छोड्न शुक्रबार भारतको रक्सौल पुगेर नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छलीको सामान बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले बसलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा २ लाख ६३ हजार ७ सय बराबरको कपडा तथा मोविल लगायतका सामानहरु बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए ।
प्रहरीले सामान सहित बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का बस चालक ३२ वर्षिय किशोरी राम र सहचालक वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४२ वर्षीय दिपक गिरीलाई नियन्त्रणमा छ । बरामद सामानको २ लाख ६३ हजार ७ सय र बसको रु. ३० लाख गरी जम्मा ३२ लाख ६३ हजार ७ सय मुल्याकंन गरी चालक र सह-चालक सहित आबश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

प्रतिक्रिया