श्रेणी : मधेस
वीरगंज (पर्सा), १ चैत । पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा आतंक मच्चाउँदै आएको मध्येका एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । विगत एक महिनादेखि दुबै गाउँपालिका क्षेत्रको मानव बस्तीमा आतंक मच्चाउँदै आएका बाघ सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ स्थितबाट नियन्त्रणमा लिइएको हो ।
३ वटा हात्ती सहित पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए । उनका अनुसार बाघ नियन्त्रणको लागि विगत १० दिनदेखि ३ वटा हातीसहितको प्राविधिक टोली खटिएको थियो । उक्त टोलीले डार्ट हानेर बाघलाई बेहोश पारी नियन्त्रणमा लिएको हो ।
दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले उखुबारीबाट उक्त बाघलाई नियन्त्रणमा लिएको प्रमुख यादवले वताए । एउटा भाले र एउटा पोथी बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको थियो । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको भइसकेको छ भने एक जना घाइतेपनि भएको थियो । राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनौं चौपायापनि मारेको थियो ।
बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी २ को उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेलापरेपछि डाट हानेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले वताए र दुई मध्ये एउटा १८ महिनाको भाले बाघलाई नियन्त्रणमा लिन सफल भएको र अर्को पोथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए । वीरगंज टाईम्स
प्रतिक्रिया