
श्रेणी : खेलकुद
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको सुरुआती समयदेखि नै सुनसरीले इलामलाई दबाबमा राखेको थियो तर गोल गर्न भने सकेन । जीतसँगै इलामले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।विजेता र उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार वितरण गरिन् ।लाखेजात्राका अवसरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबसहितका आठ टिम सहभागी थिए ।लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।जिल्लाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए ।


प्रतिक्रिया