वीरगन्ज :

चारैतिरबाट घेराबन्दीमा छुः सीके राउत

श्रेणी : राजनीति

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य भएर संघर्षमा रहेको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत अध्यक्ष राउतले आफू चारैतिरबाट घेराबन्दी रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘साथीहरू, युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु। चारैतिरबाट घेराबन्दीमा छु। विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरूको निरन्तर आक्रमणमा छु। आर्थिक, सामाजिक विभिन्न समस्याहरूले पिरोलेकै छ। केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु। देशभरिकै जनताको अपेक्षा ठूलो छ। परिवर्तनका आकांक्षी करौडौं जनता आँखा टोलाएर बसेका छन्। विगत १० वर्षदेखि लागेका लाखौं कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि काँधमा छ। देश र समाजको जिम्मेवारी एकातिर, मनको आकर्षण सन्यास र अध्यात्ममा लीन हुने तिर भने पारिवारिक जिम्मेवारी अर्कोतिर लथालिङ्ग छ । घरमा बुवा डेन्टिस्ट कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, विरामी छोरी छट्पटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन। म चाहिँ निरन्तर बटुवा झैं संगठनको काममा कहिले यता त कहिले उता भौंतारिँदैछु ।’

आर्थिक, सामाजिक विभिन्न समस्याले पिरोलेको बेलामा केही आफ्नाहरूको कमजोरी र निष्क्रियताले पनि आहत भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तर मलाई पूरा विश्वास छ – ईश्वरको कृपाले यसपालि पनि यी सबै संघर्षलाई पार गर्ने नै छु। यस जीवन युद्धको दौरान शायद म तपाईंलाई फोन गर्न नसकूँला वा फोन उठाउन नसकूँला, वा भेट्न नसकूँला, त्यसलाई अन्यथा नलिइदिनुहोला । कार्यकर्ताहरूसँग पनि केही धैर्य राख्न अनुरोध छ, तपाईंहरूको भविष्यको व्यवस्थापनको लागि लागेकै छु, र लागिरहने नै छु। शीघ्र नै तपाईं सबैसँग हाम्रो भेट पनि हुने नै छ। मलाई केही समय दिनोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *