वीरगन्ज :

हिंसा भड्काउने टिप्पणीको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेपछि रिहा

श्रेणी : अपराध

51 minutes
Pradeep Sah
1.9kViews
1040 Shares

बीरगन्ज,०२ असार । वन अतिक्रमण हटाउने सम्बन्धमा सार्वजनिक सूचनामाथि सामाजिक सञ्जालमा आपत्तिजनक तथा उत्तेजक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर पछि माफीसहित छाडेको छ।

डिभिजन वन कार्यालय बारा ले गत शुक्रबार निजगढ नगरपालिका–२ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्रको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना जारी गरेको थियो। सोही सूचनामाथि प्रतिक्रिया जनाउँदै निजगढ–९ का एक पुरुषले हिंसा उक्साउने खालको टिप्पणी गरेको आरोप लागेको हो।

उक्त टिप्पणीमा सरकारी निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिइएको भन्दै वन कार्यालयले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएको थियो। त्यसपछि प्रहरीले ती व्यक्तिलाई जीतपुरसिमरा–३, बजनी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी का अनुसार नियन्त्रणमा लिइएपछि सोधपुछका क्रममा उनले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका थिए। साथै, लिखित रूपमा माफी मागेपछि उनलाई साँझको समयमा छोडिएको प्रहरीले जनाएको छ।

वन कार्यालय बारा प्रमुख राजीव कुमार झाका अनुसार वन क्षेत्र संरक्षणका लागि कानुनी प्रक्रिया अनुसार अभियान सञ्चालन भइरहेको छ र सामाजिक सञ्जालमा सबैले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने आवश्यकता छ।

उनले सरकारी कामकारबाहीमा अवरोध पुर्‍याउने वा हिंसा उक्साउने कुनै पनि गतिविधि कानुनविपरीत हुने भन्दै यस्ता घटनामा आवश्यक कारबाही हुने चेतावनी दिएका छन्।

यसैबीच, वन संरक्षण अभियन्ताहरूले पनि सामाजिक सञ्जाल प्रयोग गर्दा संयमता अपनाउन र असहमति भए कानुनी तथा सभ्य माध्यमबाट आवाज उठाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *